भारत र अस्ट्रेलियाबीचको संवाद उपलब्धिमूलक : मोदी



इन्डिया न्युज नेटवर्क ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अस्ट्रेलियाबीचको २+२ संवाद उपलब्धिमूलक भएको र यसले बढ्दो रणनीतिक अभिसरणको संकेत दिएको बताएका छन् । अस्ट्रेलियाका विदेश मामिला मन्त्री मारिस पायने र रक्षा मन्त्री पिटर डटनले शनिबार प्रधानमन्त्री मोदीलाई भेटेपछि प्रधानमन्त्री मोदीले सो अभिव्यक्ति दिएका हुन् ।

भारत र अस्ट्रेलियाबीच पहिलो मन्त्रीस्तरीय २+२ संवादको समापनपछि शिष्टाचार भेटघाट भएको थियो । एक आधिकारिक विज्ञप्तिअनुसार प्रधानमन्त्री मोदीले अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुई देशबीच व्यापक रणनीतिक साझेदारीलाई छिटो अगाडि बढाउन खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई भारत भ्रमणको निम्तो पनि दिएका छन् । भारतीय प्रधानमन्त्री कार्यालय (पीएमओ) द्वारा जारी विज्ञप्तिअनुसार बैठकमा धेरै मुद्दाहरूमाथि छलफल भएको थियो ।

यसमा द्विपक्षीय रणनीतिक र आर्थिक सहयोगलाई अझ विस्तार गर्ने सम्भावनाहरूबारे पनि छलफल भएको थियो। हिन्द प्रशान्त क्षेत्रमा दुवै देशको साझा दृष्टिकोण पनि छलफलको विषय थियो । प्रधानमन्त्री मोदी र भारत भ्रमणमा रहेका अस्ट्रेलियाका मन्त्रीहरूले अष्ट्रेलियामा बसोबास गरिरहेका भारतीय समुदायले दुवै देशबीच मानव पुलका रूपमा कार्य गरेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्