मुस्ताङका स्याउमा रोगको प्रकोप



दुर्गाप्रसाद शर्मा, पर्वत ।

मौसम परिवर्तनसँगै मुस्ताङका स्याउमा रोग किराको प्रकोप देखिएको छ । लामो वर्षाका कारण स्याउका बोटमा स्क्याप रोगको प्रकोप देखिएको हो ।

मुस्ताङको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकासहितका ठाउँमा रहेका स्याउ बगैंचामा स्क्याप रोग देखा परेको छ । गत वर्षभन्दा यस वर्ष मुस्ताङका स्याउका बोटमा रोग किराको प्रकोप बढेकाले स्याउको उत्पादन तथा गुणस्तरमा कमी हुने शितोष्ण वागबानी विकास केन्द्र मार्फाले जनाएको छ ।

केन्द्रका अनुसार जलवायु परिवर्तनको असर तथा अन्य कारणले मुस्ताङमा बढी मात्रामा वर्षा भएको र यसले स्याउका बोट र फलमा विभिन्न रोग किराको प्रकोप देखिएको हो । स्याउको बोटमा फल लाग्ने समयमा भारी वर्षा हुँदा स्क्याप रोग देखा पर्ने केन्द्रका निमित्त कार्यालय प्रमुख काशीराम पाण्डेले बताउनुभयो ।

स्याउ बगैंचामा प्रकोप देखिएसँगै स्याउको पात झर्दै बोट उजाड देखिने, स्याउका दानामा टिकटिके दाग देखिने, पत्ता खुम्चिएर सेता ढुसी लाग्ने र फलको गुणस्तरमा समेत ह्रास आएको बताइएको छ । मुस्ताङमा गत वर्ष पनि स्याउमा विभिन्न रोग किराको संक्रमणदेखि पर्दा किसान मर्कामा परेका थिए । स्याउ बगैंचाको हेरचाह तथा व्यवस्थान र विभिन्न संक्रमण फैलिन नदिन आवश्यक सावधानी अपनाउनुपर्ने प्राविधिकले सल्लाह दिने गरेका छन् । मुस्ताङको थासाङमा गत वर्ष कुल उत्पादनको दुई तिहाइ स्याउ गुणस्तर नष्ट भएको थियो । यस वर्ष पनि मुस्ताङका किसानले स्याउ उत्पादनमा करोडौं घाटा व्यहोर्नुपर्ने देखिएको छ । मुस्ताङको घरपझोङ —२ मार्फाका किसान सन्तोष लालचनका अनुसार मौसम आएको परिवर्तनले गर्दा स्याउ बोटमा विभिन्न रोग देखा परेकाले स्याउको उत्पादन तथा गुणस्तरमा कमी आउन थालेको छ । मुस्ताङमा प्रमुख आयआर्जनको माध्यम बनेको स्याउ खेतीमा रोग किराको प्रकोपले किसानले ठूलो घाटा व्यहोर्नुपरेको बताउनुभयो । स्याउमा रोग किराको प्रकोप देखिनुको मुख्य कारण प्राविधिकले सिफारिस गरेको भन्दा बढी डोज औषधिको प्रयोग गर्नु भएको पनि प्राविधिकको भनाइ छ । किसानले विभिन्न प्राविधिकको सल्लाह विना नै औषधिको प्रयोग गर्नाले पनि स्याउमा विभिन्न प्रकोप आउने गरेको अनुभव प्राविधिकहरुको छ । पछिल्लो समय मुस्ताङका किसान स्याउ खेतीतर्फ आकर्षित हुन थालेपछि मौसम परिवर्तनले किसानको उत्पादनमा उत्साहित बनाउन सकेको छैन । मुस्ताङको जोमसोमदेखि तल्लोक्षेत्रमा स्याउ बोटमा प्रकोप देखिए पनि जोमसोमदेखि माथिल्लो क्षेत्रमा रोग किराको प्रकोप देखिएको छैन ।

प्रत्येक वर्ष भदौ महिनामा स्याउ बगैंचा हेर्न आउने र असोज/कार्तिकमा स्याउ टिपेर बजार पु¥याउने गरेको स्याउ व्यापारीहरु बताउँछन् । व्यापारीहरुले मुस्ताङबाट प्रतिकिलो एक सयमा खरिद गरी बजारमा २ सय रुपियाँ किलोसम्म बिक्री गर्ने उल्लेख गरे । मुस्ताङमा विगत ३ वर्षदेखि उच्च घनत्वको स्याउ खेती सुरु हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्