गायिका स्मिता दाहालले पहिलोपटक हिन्दी गीतमा स्वर भरेकी छिन्। भारतको प्रतिष्ठित कम्पनी टि–सिरिजको युट्युब च्यानलबाट हालै उनको स्वर रहेको हिन्दी गीत इबादत बन गए हो म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। गायनमा उनलाई जलते दिए, हुँड हुँड दबंग, राधा नाचेगीजस्ता गीतका गायक शबाब सबरीले साथ दिएका छन्।
रोमान्टिक थिमको गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्द रचना रहेको छ। गीतको भिडियोमा गायिका स्मिता आफैं फिचर्ड छिन् भने उनको जोडीका रूपमा भारतीय टेलिभिजनका चर्चित कलाकार अर्जुन बिज्लानी देखिएका छन्।
भिडियो राजीव एस. रुयाले निर्देशन गरेका छन्। म्युजिक भिडियो पुनम यादवले निर्माण गरेकी हुन्। गीतको म्युजिक भिडियोमा भारतको देहरादूनको मसुरी र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई कैद गरिएको छ। निर्मात्री यादवले गीतमा निकै मोटो रकम खर्च भएको बताइन्।
गीतको अडियो र भिडियो पक्ष अत्यन्त बलियो भएकाले दर्शकलाई मनपर्ने उनको विश्वास छ। नेपालका प्रतिभावान कलाकारलाई विश्वमाझ चिनाउनका लागि म मनोरञ्जन क्षेत्रमा आएको हुँ। मैले पहिलो गीत नै हिन्दी बनाउनुको उद्देश्य पनि यही हो’ नेपाली राजनीतिमा समेत सक्रिय निर्मात्री यादव भन्छिन्।
नेपाली संगीत र फिल्म क्षेत्रमा मधेशी समुदायको उपस्थिति उत्साहजनक छैन। झन् महिलाको सहभागिता त शून्यझैँ छ। निर्मात्री यादवले मधेशी समुदायका महिलालाई उर्जा र हौसला दिन पनि आफू मनोरञ्जन क्षेत्रमा आएको बताइन्।











प्रतिक्रिया