हुलासले गर्‍यो १० प्रतिशत मार्जिनबाट सबै खर्च धानेको दाबी



नेपाल समाचारपत्र, काठमाडौं ।

सवारी साधनको एसेम्बल गर्ने उद्योगका रुपमा परिचित हुलास अटोक्र्याफ्टले १० प्रतिशत मार्जिनबाट सबै खर्च धान्नुपरेको विवरण दिएको छ ।

‘स्वदेशमा उद्योग धन्दा बढाएर सर्वसाधारण नेपालीलाई सुलभ मूल्यमा उत्पादन वितरण गर्नु हाम्रो लक्ष्य हो’ हुलासका ब्राण्ड अफिसर अकिब राजभण्डारीले बताउनुभयो– हामीले महँगोमा बजाज मोटरसाइकल बेचिरहेका छौं भन्ने गलत प्रचार जो कोहीबाट भए पनि त्यस्ता कुरामा आम उपभोक्ताको विश्वास छैन ।

प्रख्यात व्यापारिक घराना गोल्छा अर्गनाइजेसनको उक्त कम्पनीले एउटै मोटरसाइकलमा सबै खर्च कटाएर ५० हजारभन्दा बढी सर्वसाधारणबाट ‘नाफा’ लिँदै आएको भन्दै ‘प्रचार गरिएको’ विषयमा राजभण्डारीले आपत्ति जनाउँदै नेपाल समाचारपत्रलाई आइतबार एक प्रेस–नोट उपलव्ध गराउनुभएको छ ।

कम्पनीले आफू र आफ्ना सहायक कम्पनीमा कार्यरत दुई हजारभन्दा बढी श्रमिक, कर्मचारीहरुलाई मासिक रुपमा दिने तलब, भत्ता, बैंकको ब्याज, इन्टरनेट, बिक्री तथा बजार व्यवस्थापन, विभिन्न प्रशासनिक खर्चहरु, विज्ञापन आदिको खर्च हुने गरेको तर त्यस्ता कुनै पनि खर्च नराखी बढी नाफा खायो भनेर प्रचार गरिदिँदा आफ्नो प्रतिष्ठामा आँच पुगेको दाबी गरेको छ– ‘हामीले मोटरसाइकलहरु बिक्री गरेपश्चात मुस्किलले प्राप्त गर्ने १० प्रतिशत मार्जिनबाट सबै खर्च धान्नुपरेको छ ।

मोटरसाइकल तयार गर्न लाग्ने सम्पूर्ण पार्टपुर्जा छिमेकी भारतबाट आयात गरी यस व्यापारिक घरानाले तयारी मोटरसाइकल बिक्री गर्दै आएको छ । बजाज पल्सर १५०, बजाज पल्सर १२५ नियोन, बजाज प्लाटिना १०० ई एस, बजाज पल्सर १५० टीडी, बजार एभेन्जर १६० स्ट्रिट एबीएस, बजाज पल्सर २२० एफ एबीएस र बजाज पल्सर १६० एनएस एबीएस मोडेलको पार्टपुर्जा ल्याएर मोटरसाइकल तयार गर्ने गरिएको पनि बताइएको छ ।

यसैगरी बजाज डिस्कभर १२५ डिस्क, बजार डिस्कभर ड्रम, बजाज पल्सर २०० एनएस एफआई एबीएस, बजाज डिक्सभर १२५ एसटी, बजाज डोमिनार २५०, बजाज डोमिनार ४०० र बजाज एभेन्जर २२० क्रुज पनि नेपालमै उत्पादन गर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्