नेकपा (एकीकृत समाजवादी) स्याङ्जाको अध्यक्षमा भट्टराई



अमृत अर्याल, स्याङ्जा ।

नेकपा एमालेबाट बिद्रोह गरेर फुटेको नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी) पार्टी स्याङ्जाको अध्यक्षमा रामचन्द्र भट्टराई चयन हुनुभएको छ । माधब कुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि स्याङ्जामा भट्टराईले अध्यक्षको नेतृत्व गर्नुभएको हो । नेकपा एमालेमा विवाद शुरु भएपछि समानन्तर कमिटी गठन भएको स्याङ्जामा सोही कमिटीलाई रुपान्तरण गरी पार्टी गठन भएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

समानन्तर कमिटीमा उपाध्यक्ष सर्मिला पौडेल, सचिवमा भुपराज अधिकारी, उपसचिवमा टिकाराम नेपाली, सन्तोष केसी, खड्काराज सुवेदी लगायत १ सय ५१ सदस्यीय कमिटी गठन गरिएको नेकपा समाजवादीले जनाएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि सोही कमिटीलाई रुपान्तरण गरेर ४९ सदस्यीय सचिवालय कमिटी समेत निमार्ण गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

समिति गठन पछि बसेको सचिवालयको बैठकमा हरिनास गाँउपालिका वडा नम्वर ७ का जनप्रतिनिधि रहेका ऋषिराम लम्साल सहित दर्जनौ नेता नेकपा (एकिकृत समाजवादी) पार्टीमा प्रवेश गरेको पार्टीले जनाएको छ । गल्याङ नगरपालिकाको मेयर भुपराज अधिकारीले पनि नेकपा एकिकृत समाजवादी पार्टी रोज्नुभएको छ । यसैगरी आँधिखोला गाँउपालिकाकी उपाध्यक्ष सर्मिला पौडेल पनि नेकपा (एस) मा प्रवेश गर्नुभएको छ ।

जिल्लामा स्थापित भइसकेका नेताहरु समाजवादीमा समाहित भएको बताइएको छ । जिल्ला कमिटी रुपान्तरण कार्यक्रम सगै धेरै नेता तथा कार्यकर्ता समाजवादीमा समाहित भएपछि केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेलाई ठुलो धक्का पुगेको भट्टराइको दावी छ ।

बैठकले जिल्लाका ११ ओटै स्थानीय तहमा समिति गठन गर्ने, पार्टीका भावी योजनाहरु गाँउ गाँउमा पु¥याउने र पार्टीलाई संगठित बनाउन महत्वपुर्ण भुमिका खेल्ने निर्णय गरेको पार्टीका उपसचिव टिकाराम नेपालीले जानकारी दिनुभयो । निर्वाचन आयोगले भदौ २२ गते सम्म पार्टी रोज्न समय दिएकाले नेकपा (एस) पार्टीमा अझै प्रवेश गर्ने विश्वास लिइएको नेपालीको भनाई छ ।

नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ । यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी) ले नयाँ दलको मान्यता पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्