पूर्वी नाकाबाट जडिबुटी निर्यात ओरालोे



नेपाल समाचारपत्र, भद्रपुर ।

पूर्वी नेपालमा उत्पादित जडीबुटी पछिल्लो समय भारत र बंगलादेशमा माग बढ्दै गए पनि निर्यात कम हुँदै गएको छ । क्वारेन्टिन कार्यालय काँकडभिट्टाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ देखि गत आर्थिक वर्ष २०७७/७८ सम्मको अवधिमा हरेक वर्ष जडीबुटी निर्यात क्रमशः ओरालो लाग्दै गएको हो ।

गत आर्थिक वर्ष २०७७/७८ मा पूर्वी काँकडभिट्टा भएर २ करोड २५ लाख २१ हजार ७ सय रुपियाँ मूल्यबराबरका १ सय ८७ दशमलव ६ मेट्रिक टन विभिन्न प्रजातिका जडीबुटी निर्यात भएको वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ३ करोड १३ लाख ७२ हजार रुपियाँ मूल्य बराबरको ३ सय १ मेट्रिक टन विभिन्न प्रजातिका जडीबुटी भारत तथा बंगलादेश निर्यात भएको उहाँले बताउनुभयो । गत वर्ष निर्यात कम हुनुमा विश्वमा महामारीका रुपमा रहेको कोभिड १९ को संक्रमण नै रहेको उहाँले बताउनुभयो । कोभिड १९ संक्रमण नियन्त्रण र रोकथामका लागि जारी गरिएको लकडाउनका कारण सीमानाका ठप्प हुँदा निकासीसमेत रोकिएको उहाँको भनाइ छ ।

२०७६ चैत २५ गतेसम्म काँकडभिट्टा नाका भएर सामान आइरहे पनि २६ गतेदेखि भारतसँग सीमा जोडिएको नेपालको पूर्वीनाका काँकडभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बंगलादेशले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सबै सवारीका साधन ठप्प भएका कारण पनि निर्यात कम भएको व्यवसायी बताउँछन् ।

आर्थिक वर्ष २०७५/७६ मा २ सय २९ मेट्रिक टन वा १ करोड ९२ लाख ५५ हजार रुपियाँ मूल्यबराबरको जडीबुटी निर्यात भएको कार्यालयले जनाएको छ । यसअघिको वर्ष २०७४/७५ मा २ करोड ३३ लाख ५५ हजार रुपियाँ मूल्य बरारको जडीबुटी निर्यात भएको थियो । जडीबुटी निर्यातवापत मेची भन्सार कार्यालय काँकडभिट्टाले प्रतिकिलो १ रुपियाँका दरले राजस्व लिने गरेको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माको भनाइ छ । सो नाका भएर विशेष गरी चिराइतो, रिठ्ठो, पदमचाल, सतवरी, मजेठोजातका नेपाली जडीबुटी बंगलादेश र भारततर्फ निर्यात हुने गरेको उहाँले जनाउनुभयो ।

पछिल्लो समय भारतमा नेपाली जडीबुटीको माग बढेको भए पनि विविध कारणले नेपाली जडीबुटीको निर्यात भारतमा न्यून मात्र हुने गरेको उहाँको भनाइ छ । गत आर्थिक वर्ष २०७७÷७८ मा पदमचाल १४ दशमलव ५ मेट्रिक टन वा १६ लाख ६७ हजार ५ सय रुपैयाँको र रिठ्ठा ३८ दशमलव ५ प्रतिशत १७ लाख ७१ हजार रुपियाँ मूल्य बराबरको नेपाली जडीबुटी भारततर्फ निर्यात भएको तथ्यांकले देखाएको छ । चिराईतो, जटामसी, अमला, मजिठो, विस्पेजलगायतका नेपाली जडीबुटी भारत र बंगलादेशतर्फ निर्यात भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्