चेतन कार्कीको योगदान जीवित राख्न प्रतिष्ठान स्थापना



ख्यातिप्राप्त गीतकार, कवि तथा फिल्म लेखक एवं निर्देशक स्व. चेतन कार्कीको नाममा चेतन कार्की प्रतिष्ठान स्थापना गरिएको छ।

प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीकी श्रीमती गंगा कार्की रहनेगरी तदर्थ समिति गठन गरिएको छ। लोकप्रिय अभिनेत्री तथा नृत्यांगना मिथिला शर्मा बोहराको अध्यक्षतामा गठित प्रतिष्ठानको उपाध्यक्षमा फिल्मकर्मी एवं लेखक मोहन निरौला, महासचिवमा कवि मुरारी सिग्देल तथा कोषाध्यक्ष र सह—कोषाध्यक्षमा चेतन कार्कीका सुपुत्रद्वय पारस कार्की र पंकज कार्की रहेका छन्।

त्यसैगरी, प्रतिष्ठानको तदर्थ समितिको सदस्यमा क्रमशः साहित्यकार राधेश्याम लेकाली, अभिनेता रवीन्द्र खड्का र कवि दिव्य गिरी रहेका छन्।

१९९५ मा सालमा बहाटारी, थुम, स्याङ्जामा जन्मिएका कार्कीको नेपाली साहित्य तथा फिल्म क्षेत्रमा अविस्मरणीय योगदान रहेको छ। चन्द्रमाया कार्की तथा जुद्धवीर कार्कीका सुपुत्र चेतन कार्कीको बाल्यकाल भारतको देहरादूनमा बितेको थियो। कार्कीले निर्देशन गरेको पहिलो फिल्म विश्वास थियो भने भुमरी दोस्रो र पहिलो प्रेम अन्तिम फिल्म थियो। त्यसैगरी, परिवर्तन, आत्मा बेचेको छैन, हनिमुन, ढलेको गिलासजस्ता उपन्यास तथा कल्पना टुट चुकी है (कविता–हिन्दी/उर्दू) सहित जून निदाउन थाल्यो (कविता र गीति संग्रह), माया प्रीतिको चोखो कथा (गीत संग्रह), हत्केलालले सधैंभरि सूर्य छेकिँदैन (मुक्तक संग्रह), हो देश मेरो पनि (गजल संग्रह), बसीबियाँलो (कथा संग्रह), दिल जिगर के टुकडे (उर्दू बयाज) पनि उनका कृति हुन्।

कार्कीको पहिलो नाटक आत्मा बेचेको छैन थियो भने पहिलो उपन्यास पनि आत्मा बेचेको छैन नै थियो। यसैगरी, पहिलो गीत संगीत महर्षि नातिकाजीको संगीतमा तारा देवी र भुवन थापा चन्दको स्वरमा रहेको दाइलाई बोलाऊँ भने लेक स्वर पुग्दैन, बोलाइरहन हुँदैन हो।

संवत् २०१७ सालदेखि नै नेपाली रंगमञ्चमा प्रवेश गरेका कार्की फिल्ममा भने २०२५ सालदेखि आबद्ध भएका थिए। चेतनले रचना गरेका दर्जनौं गीत अत्यधिक लोकप्रिय छन्। तीमध्ये तीजको रहर आयो बरी लै सर्वाधिक लोकप्रिय छ। चेतनले मायाप्रीति, कान्छी, कन्यादानसहित थुप्रै फिल्मका लागि गीत रचना गरेका छन्। यस्तै शाहवंशको इतिहास, शिक्षाको उज्यालो, मेरो सपना, पृथ्वीनारायण शाह, बुढो चौतारी, मेरो कर्तव्य के? लगायत दर्जनौं नाटक पनि उनले लेखेका छन्।

कार्कीको योगदानलाई जीवन्त राख्न प्रतिष्ठान स्थापना गरिएको प्रतिष्ठानकी अध्यक्ष मिथीला शर्माले जानकारी गराइन्। उनले प्रतिष्ठानको कार्यालय स्व. कार्कीको ललितपुरस्थित निवासमा रहनेसमेत जानकारी गराइन्। त्यसैगरी, चेतन कार्कीद्वारा स्थापना हीरासिंहको नामको पुरस्कारलाई निरन्तरता दिने तथा कार्कीको नाममा सम्मान र पुरस्कारको स्थापना गर्ने, चेतनका प्रकाशित पुस्तक तथा सम्मानपत्रको संरक्षण गर्ने र अप्रकाशित कृति एवं रचनाको प्रकाशन गर्नेजस्ता उद्देश्यसहित प्रतिष्ठानको स्थापना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्