म्युजिक भिडियोका निर्देशक संगठित



म्युजिक भिडियो निर्देशकहरू संस्थागतरूपमा संगठित भएका छन्।

म्युजिक भिडियो निर्देशकहरूलाई संगठित गर्दै नेपाल म्युजिक भिडियो निर्देशक समाज गठन गरिएको छ। हालै राजधानीमा आयोजित एक कार्यक्रमबीच विधान कार्कीको नेतृत्वमा समाज गठन गरिएको हो। वर्षेनी अर्बौंको लगानी हुने म्युजिक भिडियो क्षेत्रमा कार्यरत निर्देशकहरू संगठित भई यो क्षेत्रलाई थप व्यावसायिक, मर्यादित र व्यवस्थित बनाउन नेपाल म्युजिक भिडियो निर्देशक समाज गठन गरिएको कार्कीले दाबी गरे। उनले निकट भविष्यमै म्युजिक भिडियोका पहिलो निर्देशक शम्भुजित बास्कोटा र पहिलो मोडल भुवन केसीलाई सम्मान गरिने बताए।

कार्यक्रममा समाजका महासचिव सुव्रतराज आचार्यले म्युजिक भिडियोलाई फिल्मझैँ दर्ता प्रक्रियामा लैजानुपर्नेमा जोड दिए। ‘म्युजिक भिडियो पनि फिल्मकै एउटा पाटो हो। पछिल्लो समय फिल्ममा झैँ म्युजिक भिडियोमा पनि कथा वाचन शैलीलाई प्राथमिकता दिन थालिएको छ। त्यसैले, चलचित्र विकास बोर्डलाई म्युजिक भिडियोलाई पनि व्यवस्थित गर्न दर्ता प्रक्रिया शुरू गर्न आग्रह गर्दछु’ उनको भनाइ थियो।

कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोना महामारीको समयमा मनोरञ्जन क्षेत्रलाई बचाउन म्युजिक भिडियोको ठूलो योगदान रहेको बताए। उनले नवगठित निर्देशक समाजका पदाधिकारीलाई पेसागत हकहित र पेसागत मर्यादालाई स्थापित गर्न आग्रह गरे।

कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, समाजकै महासचिव जनकदीप पराजुली, नेपाल चलचित्र नृत्यकार संघका कार्यकारी अध्यक्ष जनक कार्की, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालगायतले समाजकाको कार्य समितिलाई बधाई तथा शुभकामना दिएका थिए। समाजको कार्यसमितिमा १५ जना रहेका छन्। कार्यसमितिमा प्रथम उपाध्यक्ष देवेन्द्र पाण्डे, द्वितीय उपाध्यक्ष निकेश खड्का, सचिव हेम प्रभाष अधिकारी, कोषाध्यक्ष दयाराम घिमिरे, सह–कोषाध्यक्ष निशान घिमिरे तथा सदस्यहरू शान थापा, समन अधिकारी, गम्भीर विष्ट, अनुप चापागाईं, प्रकाश धिताल, बबिता श्रेष्ठ, बिजेश पौडेल र राजेश पुमा राई रहेका छन्। समाजको सल्लाहकार सदस्यमा गीतकार डब्बु क्षेत्री र निर्देशक जनकदीप पराजुली नियुक्त भएका छन् भने प्रेस सल्लाहकारमा जीवन पराजुली नियुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्