मौसमी अब बाटुली



लोकप्रिय नायिका मौसमी मल्ल लामो समयको अन्तरालपछि पर्दामा देखिएकी छिन् ।

मौसमी लामो समयपछि काँचको पर्दामा प्रसारण हुने नयाँ पारिवारिक टेलिश्रृंखला बाटुलीमा देखिएकी हुन् । यो टेलिश्रृंखला हालै प्रसारणमा आएको छ । आर्टिस्ट खबर मिडियाले निर्माण गरेको यो टेलिश्रृंखला न्युज नेपाल एचडी टेलिभिजनमा हरेक मंगलबार साँझ साढे सात बजे प्रसारण हुनेछ। गत भदौ मंगलबार १ गतेबाट यो टेलिश्रृंखला प्रसारणमा आएको हो ।

सञ्चारकर्मी गोपिकृष्ण चापागाईं र नवराज अधिकारीको निर्देशनमा तयार भएको बाटुली टेलिश्रृंखला झन्डै २५ वर्ष पुरानो कथामा निर्माण गरिएको छ । मोबाइल युग भन्दा अघि नेपाली गाउँ समाजमा सासु र बुहारी बीच हुने विभेदलाई टेलिश्रृंखलामा उतारिएको निर्देशक गोपिकृष्णले जानकारी गराए । ‘पछिल्लो समय नेपालमा धेरै टेलिश्रृंखला निर्माण भइरहे पनि हामीले पुरानो कथा उठान गरेका छौँ’ टेलिश्रृंखलाको कथा लेखक समेत रहेका गोपिकृष्णले बताए ।

टेलिश्रृंखलाको निर्माण नेपालको मध्य जिल्ला नवलपरासी पूर्व (नवलपुर)मा गरिएको अर्का निर्देशक तथा व्यवस्थापक नवराज अधिकारीले जानकारी गराए । अधिकारीका अनुसार नवलपुरको देवचुली नगरपालिका वडा नं. ४ र ५ को झाँक्रे गाउँमा छायांकन गरिएको छ।

बाटुलीमा लोकप्रिय अभिनेत्री मौसमी मल्ल सासुको भूमिकामा छिन् भने सिपी पौडेल ससुराको भूमिकामा छन् । त्यस्तै, कलाकार संगम भुसालले बुहारीको भूमिका निर्वाह गरेकी छिन् । टेलिश्रृंखलामा यस बाहेक खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समीक्षा लामिछाने, बालकलाकार खुसी अर्याल लगायतले अभिनय गरेका छन् । अनिल लामिछानेको छायांकन रहेको टेलिश्रृंखलामा शारदा पौडेलको श्रृंगार, वीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ । टेलिश्रृंखला मंगलबार साँझ ८ बजेबाट बाटुली आर्टिस्ट खबरको युट्युब च्यानलमा पनि हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्