१२ वर्षदेखि बेपत्ता बाबु खोज्दै कृष्ण



न्युज अफ नेपाल, काभ्रे ।

पनौतीको एक होटमा काम गर्ने कृष्ण बस्नेतले आफ्नो पितालाई नभेट्दा नागरिकता बनाउन पाएका छैनन् । कृष्णको पिता रामवहादुर बस्नेतले ७ वर्षको उमेरमा कृष्णलाई पनौतीमा ल्याएर छोडे देखि वेपत्ता छन् । रामवहादुर पहिला भकुन्डे चौकीडाडा स्थित माधव न्यौपानेको घरमा काम गर्न बसेका थिए ।

आफ्नो घर पुग्न सिन्धुपाल्चोकको खाडीचौर बाट एक घण्टाको उकालो बाटो हिड्नुपर्ने भनि पहिला रामवहादुरले बताए अनुसार कृष्णले आफ्नो घर ठेगाना खोज्न त्यो क्षेत्रमा धेरैपटक गए । तर, कसैले पनि रामवहादुरको घर पत्ता लगाउन सकेनन् । भकुण्डेका न्यौपानेले जानकारी दिए अनुसार पहिला श्रीमती सहित रामवहादुर काम गर्न आएका थिए ।

पछि फेरी काठमाडौं गए । काठमाण्डौको कालिमाटीमा केहि वर्ष बसेर फेरी धुलिखेलको भट्टेडाँडामा बसे । त्यसपछि फेरी भकुन्डे न्यौपानेको घरमा काम गर्न आए । उनको श्रीमतीको भने काठमाण्डौमा अकालमा मृत्यु भएको बताएको न्यौपानेले बताएका छन् ।
न्यौपानेका अनुसार ५ वर्ष अघि रामवहादुरलाई महावौद्धमा भारि बोक्ने काम गरेको देखेका थिए ।

घर परिवार नभेट्दा कृष्णलाई नागरिकता बनाउन समस्या भएको छ । करिब ७ वर्षको उमेरमा पनौतीको होटलमा काम गर्न बसेका कृष्ण १२ वर्ष देखि त्यहि होटलमा काम गर्दै छन् । अहिले उनका पित लगभग ६० वर्षको भएको बताइन्छ ।

सधै टोपि लगाउने, पटुकी बाध्ने, चप्पल लगाउने हुलिया भएको रामवहादुर मादकपदार्थ सेवन गर्ने गरेको बताइएको छ । कृष्णले आफ्नो पिताको खोजि गर्न र घर ठेगाना पत्ता लगाउन अहिले सञ्चारकर्मीहरु संग हारगुहार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्