गाईजात्रालाई दमनको छताछुल्ल



हास्यकलाकार दमन रुपाखेती र उत्सव केसीको लेखन तथा निर्देशनमा गाईजात्रे प्रस्तुति छताछुल्ल सार्वजनिक गरिएको छ।

यो प्रस्तुतिमा राजनीतिक र सामाजिक विकृतिलाई हास्यव्यंग्यमार्फत छताछुल्ल गरिएको छ। यसमा सुभाष गजुरेल, दमन रुपाखेती, कमलकान्त मैनाली, लक्ष्मण विक्रम बस्नेत, संगम भण्डारी, घनश्याम गौतम (नक्कली प्रचण्ड), लक्ष्मीनाथ तिमिल्सिना, सुरेश तिमल्सिना (नक्कली ओली), शोभा भण्डारी, दीपक सापकोटा, मनिता डंगोल, सन्देश राउत, आयुष्मा पाण्डे र उत्सव केसी ले अभिनय गरेका छन्। उत्तम केसी र दुर्गा केसी निर्माता रहेको गाईजात्रे छताछुल्लमा सुमन फुयाँल सहनिर्माता छन् भने छायांकन ज्ञानकुमार कट्टेल र सम्पादन प्रेम शर्मा पौडेलको रहेको छ।

गाईजात्रे प्रहसन दोहोरी समावेश गरिएको गाईजात्रे सामग्रीमा एउटा दोहोरी गीतको प्यारोडी हास्यकलाकार घनश्याम गौतमले लेखेका छन्। अघिल्लो वर्ष वार कि पार नामक गाईजात्रे प्रस्तुति बजारमा ल्याएको चुइचुई पारेर युट्युब च्यानलले यसपटक छताछुल्ल गाईजात्रा बजारमा ल्याएको हो। पोहोर साल गाईजात्रामा बेसार पानी खाउँ जनता बेसार पानी खाउँले चर्चा कमाएको थियो। यो वर्ष पनि आफूहरूको गाईजात्रे प्रस्तुतिलाई दर्शकले मनपराउनेमा हास्यकलाकार दमन रुपाखेती ढुक्क छन्।

प्रतिक्रिया दिनुहोस्