फिदिमको वित्तीय प्रगति ७७ प्रतिशत



पाँचथर ।

पाँचथरको फिदिम नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा ७७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको समीक्षात्मक प्रतिवेदनअनुसार पुँजीगत खर्च अपेक्षित हुन नसक्दा वित्तीय प्रगति ७७ प्रतिशतमा सीमित भएको हो । गत आवमा नगरपालिकामा चालू र पुँजीगततर्फ गरी कूल ९६७ वटा योजना तथा कार्यक्रम स्वीकृत भएकामा ९०५ वटा सम्पन्न भएका हुन् ।

स्वीकृत योजना तथा कार्यक्रमको कार्यान्वयनका लागि रु ९६ करोड ७३ लाख ११ हजार ५०९ बजेट विनियोजन भएकामा रु ७४ करोड ८७ लाख ७३ हजार ५८४ खर्च भएको हो । नगरपालिकामा चालूतर्फ ३४३ योजना तथा कार्यक्रममा रु १६ करोड ५३ लाख ६० हजार बजेट स्वीकृत भएको थियो ।

जसमा ३३० योजना तथा कार्यक्रम पूरा हुँदा रु ११ करोड ७५ लाख ४० हजार खर्च भएको छ । चालूतर्फका योजना र कार्यक्रममा ९६ प्रतिशत भौतिक प्रगति र ७१ प्रतिशत वित्तीय प्रगति हासिल भएको नगर प्रमुख ओनाहाङ नेम्वाङ र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले जारी गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै पुँजीगततर्फ ६२४ योजना तथा कार्यक्रममा रु ८० करोड १९ लाख ५१ हजार बजेट स्वीकृत भएको थियो । जसमा ५७५ योजना तथा कार्यक्रम सम्पन्न हुँदा रु ६३ करोड १२ लाख २२ हजार खर्च भएको छ । पुँजीगततर्फका योजना र कार्यक्रममा ९२ प्रतिशत भौतिक प्रगति र ७९ प्रतिशत वित्तीय प्रगति भएको प्रतिवेदनमा जनाइएको छ ।

गत आवमा फिदिम नगरपालिकामा सबैभन्दा बढी सामाजिक विकास क्षेत्रका ३६८ योजना तथा कार्यक्रम स्वीकृत भएकामा ३४७ सम्पन्न भएका छन् । सामाजिक क्षेत्रका योजना तथा कार्यक्रममा भौतिक र वित्तीय प्रगति समान ९० प्रतिशत रहेको छ । भौतिक पूर्वाधार विकासतर्फका २३४ योजना तथा कार्यक्रम स्वीकृत भएकामा २२६ वटा सम्पन्न भएका छन् ।

भौतिक पूर्वाधार विकासतर्फ फिदिम नगरपालिकाले ९७ प्रतिशत भौतिक प्रगति गरे तापनि वित्तीय प्रगति ५८ प्रतिशतमा सीमित भएको छ । कोभिड–१९ को महामारीका कारण धेरै योजनाको काम शुरु भए पनि सम्पन्न नहुँदा वित्तीय प्रगति निकै कमजोर देखिएको हो । यस्तै आर्थिक विकासतर्फ २१५ योजना तथा कार्यक्रम स्वीकृत भएकामा १९६ वटा सम्पन्न भएका छन् । जसमा भौतिक प्रगति ९० प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत हासिल भएको प्रतिवेदनमा जनाइएको छ ।

सदरमुकामसमेत रहेको जिल्लाको एकमात्रै नगरपालिकाले समेत पूर्वाधार विकासमा यथेष्ट प्रगति हासिल गर्न नसकेको हो । विगत लामो समय तत्कालीन जिल्ला विकास समितिमा काम गर्नुभएका फिदिम नगरपालिकाका इञ्जिनीयर प्रेम काफ्लेका अनुसार पूर्वाधार योजना पूरा गर्न नीतिगत, संरचनागत तथा प्राविधिक जटिलता धेरै हुने गरेका छन् ।

“फिदिम नगरपालिकासँगै भनेजति प्राविधिक जनशक्ति छैनन्”, काफ्लेले भन्नुभयो, “आर्थिक वर्षको बीचमा योजना थप गर्ने कार्यले पूर्वाधारका योजना सञ्चालनमा झनै समस्या आउने गरेको छ ।” प्राविधिकलाई जनप्रतिनिधि, कर्मचारी तथा उपभोक्ताबाट उचित सहयोग प्राप्त नहुने, स्रोतसाधनको अभाव हुनेजस्ता समस्या समेत देखिने गरेका छन् ।

विकास निर्माणका कार्यलाई गुणस्तरीय बनाइ यथेष्ट भौतिक तथा वित्तीय प्रगति हाँसिल गर्न गाउँ/नगरसभाबाट पारित भएका योजनालाई जस्ताको तस्तै कार्यान्वयन गर्न इञ्जिनीयर काफ्लेको सुझाव छ । “असार २४ गते पनि योजना सम्झौता भई कार्यान्वयन भयो”, काफ्लेले भन्नुभयो, “आफैँ योजनाको छनोट गर्ने, आफैले कार्यान्वयन गर्ने र आफैँले अनुगमन गर्ने स्थानीय तहमा त यो हालत छ भने अन्यत्र कस्तो अवस्था होला ?” फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले गत आवमा योजना तथा कार्यक्रम सञ्चालनमा कोभिड–१९ सङ्क्रमणको धेरै प्रभाव परेको भन्दै आगामी दिनमा विगतबाट पाठ सिकेर प्रभावकारी योजना सञ्चालन र यथेष्ट प्रगति हासिल गर्नेतर्फ नगरपालिका अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्