उदयपुर।
सशस्त्र प्रहरी बल, नेपालको इन्टेलिजेन्स ब्युरोले उदयपुरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।
ब्यूरोको विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ करिब उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा गरिएको चेकजाँचका क्रममा ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरो तथा नं. ४ गण सुनसरी र नं. ५ गण उदयपुरबाट खटिएको संयुक्त टोलीले प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक जाँच गर्ने क्रममा २४६ वटा प्लास्टिकका बोरामा प्याक गरी लुकाईछिपाइ राखिएको अवस्थामा उक्त गाँजा फेला पारेको थियो।
बरामद गरिएको गाँजा तथा ट्रक आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ।
सशस्त्र प्रहरी बल, नेपालले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्दै आएको छ। अभियानअन्तर्गत विभिन्न प्रकारका लागुऔषध ठूलो परिमाणमा नियन्त्रणमा लिनुका साथै लागुऔषधको दुर्व्यसन तथा अवैध कारोबार नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।











प्रतिक्रिया