ललितपुर।
नेपाली काँग्रेस १३ नम्बर वडा कार्यसमितिले रक्तदान एवं भेला आयोजना गरेको छ । देशैभर रगत अभाव भइरहेको अवस्थामा सो कार्यक्रम आयोजना गरेको हो । नेपाली काँग्रेसका महामन्त्री उदयशम्सेर राणाले पार्टीले दिएको निर्देशन अनुसार उपत्यकामा वडा कार्यसमितिले पहिलो रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

रक्तदान कार्यक्रमको सुरुवात गर्ने वडा कार्यसमितिका अध्यक्ष सुमन गजुरेललाई पार्टीको तर्फबाट धन्यवाद । उहाँले सबै वडा कमिटी स्थानीय जनताको भावना बुझेर कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो । पार्टी सभापति ज्युको पनि यही आशय छ, सोही अनुसार वडा कमिटीको कार्यक्रम अघि बढाउनुहोला–महामन्त्री राणाले भन्नुभयो । ललितपुर महानगरपालिका–१३ पञ्चेश्वर महादेव परिसरमा भएको रक्तदान कार्यक्रममा दुई घण्टामा २५ जनाले रक्तदान गरेका थिए।

रगत अभावको कारण रेडक्रसले तत्काल १२ बजेसम्ममात्र समय सीमा तोकेको कारण २५ जनालेमात्र रक्तदान गरेको जानकारी गराइयो । भेलामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जनले निर्वाचनले आफूलाई थप लोकप्रिय बनाइदिएको बताउनुभयो । सर्वाधिक मत सहित केन्द्रीय सदस्यमा निर्वाचित महर्जनले आगमी स्थानीयतहको निर्वाचनमा युवाको वर्चस्व हुनुपर्ने बताउनुभयो । १३ नम्बर वडा कमिटीका अध्यक्ष गजुरेलले गरेको कार्यक्रमप्रति खुसी व्यक्त गर्दै महर्जनले भन्नुभयो–रक्तदानले नयाँ जीवन पाएका छन् । भेलाले वडा नम्बर १३ मा सुमन गजुरेल सहितको टिमलाई उचाइमा पु¥याएका छन् ।

कार्यसमितिका अध्यक्ष गजुरेलले रक्तदान कार्यक्रममा हामी एउटा अत्यन्तै पवित्र र मानवीय उद्देश्यका साथ एकत्रित भएको बताउनुभयो । ‘रक्तदान भनेको केवल रगत दिनु मात्र होइन, कसैको जीवन बचाउने महान् मानवीय सेवा हो। हामीले दिएको एक पोका रगतले कुनै दुर्घटनामा परेको व्यक्ति, शल्यक्रिया गराइरहेको बिरामी, सुत्केरी महिला वा गम्भीर रोगसँग संघर्ष गरिरहेको व्यक्तिलाई नयाँ जीवन दिन सक्छ’–उहाँको भनाई थियो ।

उहाँले नेपाली कांग्रेसले सधैँ लोकतन्त्र, समाजवाद र सामाजिक न्यायका साथै जनताको सुख दुःखमा साथ दिने राजनीतिक संस्कारलाई आत्मसात् गर्दै आएको छ । हामी राजनीति भाषण र नारामा मात्र सीमित हुनुहुँदैन, जनताको जीवनसँग जोडिनुपर्छ भन्नुभयो । यस कार्यक्रमले समाजमा रक्तदानप्रति सकारात्मक सन्देश फैलाउनेछ र आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिन हामी सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु । उहाँले यस्ता सामाजिक उत्तरदायित्व र स्थानीय जनतासँग जोडिएको कार्यक्रमलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा जिल्ला अध्यक्ष जितेन्द्र श्रेष्ठ, जिल्ला उपसभापति एवं गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, महानगर कमिटीका अध्यक्ष राजु महर्जन लगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा नेपाली काँग्रेस वडा नं–१३ इकाई कार्यालयको महामन्त्री राणाले उद्घाटन गर्नुभएको थियो ।













प्रतिक्रिया