अमृत अर्याल, स्याङ्जा।
जिल्लामा २०७२ को महाभुकम्पबाट घर क्षति भएका १० हजार बढी पीडितले लाभ लिएका छन् । क्षतिग्रस्त निजी आवास तथा भवनको पुनःनिर्माणका लागि हालसम्म जिल्लामा पुनःनिर्माण तथा प्रबलीकरण गरी कूल १० हजार १ सय ६२ घर निर्माण भएका छन् । अब बाँकी पुनःनिर्माणतर्फ ९ सय ८ र प्रबलीकरणतर्फ ७ सय ५४ लाभग्राहीका सूचीमा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख प्रवीण ढकालले जानकारी दिनुभयो ।
पुनःनिर्माणतर्फका कूल ९ हजार ४ सय ८ लाभग्राही रहेका थिए । “प्रथम किस्ता बुझेका ६ हजार २ सय २ मध्ये गत असार मसान्तसम्ममा ६८.३५ प्रतिशतले घर निर्माण सम्पन्न गरेका छन” उहाँले भन्नुभयो, “घर निर्माण सम्पन्न गरेका लाभग्राहीलाई तेस्रो किस्ताबापतको रकम प्रदान गरिसकेका छौं ।” प्रबलीकरणतर्फका कूल लाभग्राही ७ सय ५४ मध्ये ६ सय ८ ले सम्झौता गरी प्रथम किस्ताबापतको रु ५० हजार बुझेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तोकिए बमोजिमको प्रबलीकरण गरी ३२ लाई मात्र दोस्रो तथा अन्तिम किस्ताबापतको रु ५० हजार प्रदान गरिएको हो ।
लाभग्राही कायम भएकाको हकमा आगामी कात्र्तिक मसान्तसम्म आवास पुनःनिर्माणको अवधि कायम गरेको छ । “प्रबलीकरणमा कायम भएका लाभग्राहीले चाहेको खण्डमा पुनःनिर्माणको लाभग्राहीमा समेत परिवर्तन हुन पाउनेछन” प्रमुख ढकालले भन्नुभयो, “यदि सामान्य मर्मत सम्भारमात्रै गर्न चाहेमा रु ५० हजार प्राप्त गर्न सक्नेछन् ।” पहिले सर्भे/रिसर्भे भएर पनि लाभग्राही कायम हुन नसकेका ७ सय १७ गुनासोकर्ताको पुनरावेदन फाइल केन्द्रमा पठाइएको छ । जिल्लामा २१ लाभग्राहीले आफ्नो अन्यत्र समेत बस्न योग्य घर रहेको जनाउँदै प्रथम किस्ताबापतको रु ५० हजारका दरले रु १० लाख ५० हजार फिर्ता गरेको प्रमुख ढकालले जानकारी दिनुभयो ।
पुनःनिर्माण लाभग्राहीले निजी आवास निर्माणका लागि तीन किस्तामा गरी तीन लाख र प्रबलीकरण लाभग्राहीले आंशिक क्षतिग्रस्त घर प्रबलीकरण गर्न दुई किस्तामा एक लाख रूपैयाँ पाउँछन् । पछिल्लो व्यवस्थाअनुसार पीडितले आफैं घर बनाए पनि मापदण्ड पुर्याउनेले एकमुष्ठ अनुदान पाएका छन् । राजनीतिक हस्तक्षेप र प्राधिकरण आफैं चुस्त नहुँदा केही भूकम्पपीडित ६ बर्षसम्म पनि अस्थायी टहरा र टेन्टमै बस्न बाध्य भएका छन् ।











प्रतिक्रिया