देवकोटा संग्रहालयबारे प्रज्ञाको ध्यानाकर्षण



काठमाडौं, (नेस) ।

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’ निर्माणका सम्बन्धमा विभिन्न सञ्चार माध्यमबाट आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले यही साउन २२ गते शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी काठमाडौं महानगरपालिका–३०, मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा परिवारको नाममा मोहियानी हक रहेको उक्त घर ‘कविकुञ्ज’ र उक्त घरले चर्चेको १२ आना १ दाम जग्गा नेपाल सरकारको सहयोगमा देवकोटा परिवारलाई २ करोड ५० लाख रुपयाँ उपलब्ध गराई ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’ निर्माणका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानको हकभोगमा ल्याइएको बताएको थियो ।

उक्त घर–जग्गामा गुठी संस्थानको स्वामित्व यथावत् राख्दै मोहियानी हकभोग मात्र देवकोटा परिवारबाट नेपाल प्रज्ञा–प्रतिष्ठानमा आएको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

प्रतिष्ठानका अनुसार उक्त घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्य स्वरूप आउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । प्रस्तावित संग्रहालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक अवस्था हो । प्रस्तावित संग्रहालय भवन विभिन्न उमेर अवस्थाका अवलोकनकर्ताहरूलाई दृष्टिगत गरी सुविधाका दृष्टिले आधुनिकता र कलाका दृष्टिले नेपाली मौलिकता कायम हुने गरी निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्