मनाङको क्षति अवलोकनमा मन्त्रीको टोली विद्युत्, सडक र राहतमा जोड

9.49k
Shares

मनाङ, (नेस) ।

बाढीपहिराले पुर्‍याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुग्नुभएको छ ।

असार १ गतेको बाढीपहिरोले क्षति पुर्‍याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उहाँहरू आउनुभएको हो । जिल्लाका विभिन्न स्थानमा पुर्‍याएको क्षतिको निरीक्षण गरी समाधानको उपाय र आवश्यक सहयोगका लागि उहाँहरू मनाङ आउनुभएको हो ।

पूर्वप्रधानमन्त्री दाहाल, ऊर्जामन्त्री भुसालसँगै पूर्वमन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुखलगायतको टोलीले मनाङमा बाढीपहिरोले क्षति पुर्‍याएका क्षेत्रको निरीक्षण गरेको थियो । टोलीले मनाङ ङिस्याङ गाउँपालिकाको तिमाङ, चामे गाउँपालिकाको चामे, नासों गाउँपालिकाको दानाक्यु, तिल्चेताललगायतका स्थानमा भौतिक क्षति पुगेको संरचनाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

उहाँहरूले भौतिक क्षति पुगेका संरचनाको मर्मत तथा सम्भारका सम्बन्धमा सम्बन्धित निकायसँग छलफल गर्नुभएको थियो । विद्युत् प्राधिकरण, सिँचाइ, स्वास्थ्य, बस्तीमा पुनर्वासको अवस्थाका बारेमा अवलोकन तथा निरीक्षण र समाधानको उपायका सम्बन्धमा छलफल भएको थियो ।

त्यस क्रममा प्रचण्डले पाँच दलीय गठबन्धनमा पनि मुख्य एजेन्डा मनाङ र सिन्धुपाल्चोकलाई संकटग्रस्त जिल्ला घोषणा गरी राहतका प्याकेज उपलब्ध गराउने बताउनुभयो । सडक, विद्युुत् र राहतलाई सँगसँगै अघि बढाउने उहाँको भनाइ थियो । त्यसै गरी ऊर्जामन्त्री भुसालले विद्युत्, खानेपानी र सिँचाइलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले मनाङका सबै मन्त्री तथा पूर्वमन्त्रीहरूले यसभन्दा अघि पनि राहत वितरण गरिरहेको बताउँदै सरकारले जतिसक्दो चाँडो विद्युत् तथा खानेपानीको समस्या रहेकाले यसतर्फ ध्यान दिन जोड दिनुभयो ।

मस्र्याङ्दी नदीमा आएको बाढीपहिरोका कारण मनाङ अन्धकारमा रहेकाले लघु जलविद्युत्, विद्युत् प्राधिकरण, सिँचाइ र खानेपानीका सम्बन्धमा छलफल भएको थियो ।