सर्लाही, (नेस) ।
अत्यधिक गर्मीसँगै अक्सिजनको मात्रा कम हुँदा सर्लाहीको हरिवन नगरपालिका–९ मा रहेको पोखरीमा लाखौं रुपियाँको माछा मरेको छ । जय सन्तोषी कृषि महिला समूहले एक महिनाअघि मात्र त्यस पोखरीमा ४ लाख बराबरको माछाका भुरा छोडेको थियो ।
करिब १५ कठ्ठा क्षेत्रफलमा फैलिएको पोखरीमा ग्रासकाट, सिल्भर, रोहुु, भकुरा जातका माछापालन हुँदै आएको थियोे । पोखरीमा धेरै माछा र घामले पानी तातिरहेका कारण अक्सिजनको मात्रा कम भएर उन्नत जातको माछा मरेको हुन सक्ने हरिवन नगरपालिका–९ का वडाध्यक्ष सीताराम पोखरेलले जानकारी बताउनुभयो । पोखरीमा रहेका अरू स्थानीय जातका माछा सर्प अन्य कुनै जीवजन्तु नमरेको स्थानीयले बताएका छन् । स्थानीयले शनिबार दिउँसो अबेर पोखरीमा माछा मरेको देखेका थिए ।
पोखरीमा अहिले पनि मरेका साना–ठूला माछा तैरिरहेको अवस्थामा छ । त्यस पोखरीमा तीन वर्षदेखि महिला समूहले उन्नत जातको माछापालन गर्दै आएका थिए । तयारी अवस्थाका र भुरा माछा गरी करिव ४ लाख बराबरको क्षति भएको महिला समूहको भनाइ छ । मरेका माछा र पोखरीको पानी परीक्षणका लागि ल्याबमा पठाइसकेको बताइएको छ ।











प्रतिक्रिया