मन्दिरको सुन चोरी प्रकरण, दुई कारागार चलान, धरौटीमा छुटे किन्ने

94
Shares

विनोदसिंह विष्ट, बैतडी ।

मन्दिरको सुन चोरेको आरोप लागेर प्रहरी हिरासतमा रहेका दुई जनालाई कारागार चलान गरिएको छ । कारागार चलान गरिनेमा दोगडाकेदार गाउँपालिका–१ रिमका धनबहादुर कार्की र केशवराम सार्की रहेका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–१ रिमस्थित लटिनाथ मन्दिरको सुनचोरी प्रकरणमा पक्राउ परेका ७ जनामध्ये २ जनालाई कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले सो घटना संलग्न रहेका धनबहादुर र केशवरामलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । धनबहादुर र केशवरामले मन्दिरको भण्डार घर फोडी सुन चोरी कार्यमा मुख्य संलग्न रहेका बताइएको छ ।

मन्दिरबाट चोरिएको सुन खरिद गरेको आरोपमा पक्राउ परेका सुनचाँदी व्यवसायी बैतडीको दशरथचन्द नगरपालिका–४ गढीका कञ्चन पौडेल र गणेश पौडेल तथा दार्चुलाको शैल्यशिखरका भुवनसिंह साहु धरौटी रिहा भएका छन् । उनीहरु जनही ५० हजार रुपियाँ धरौटीमा रिहा भएका हु्न् ।

यस्तै मन्दिरको सुनचोरी प्रकरण पक्राउ परेका दोगडाकेदार गाउँपालिका–१ रिमका लालबहादुर कार्की र हरिकृष्ण सार्की जनही १० हजार धरौटीमा छुटेका प्रहरीले जनाएको छ ।

लटिनाथ मन्दिरमा गत मंसिरमा सुन चोरी भएको भए पनि स्थानीयहरुले गत चैतमा मात्रै थाहा पाएका थिए । मन्दिरको सुन चोरिएको विषयमा केही महिना गाउँमै सोधपुछ गरिएको र असार अन्तिम साता प्रहरीमा उजुरी दिएको थियो ।

उजुरीपछि प्रहरीले पौने चार तोला सुनसहित ७ जनालाई नियन्त्रणमा लिएको छ । ४ जना स्थानीय र तीन जना सुनचाँदी व्यवसायीलाई नियन्त्रणमा लिएर अनुसन्धान सकेर अदालतमा पेस गरिएको थियो । पक्राउ परेका उनीहरुसँग पौने ४ तोला मात्रै सुन फेला परेको भए पनि मन्दिरबाट ९ तोला सुन चोरी भएको खुल्नमा आएको छ ।