पोखरामा चित्रकला



कास्की, (नेस)।

मेरो मनमा चीन शीर्षकमा पोखरामा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ।

नेपालको लागि जनवादी गणतन्त्र चीनको राजदूतावासको आयोजना तथा नेपाल चीन जनमैत्री संघ, पोखराको संयोजनमा भएको प्रतियोगितामा कास्कीका विभिन्न प्राथमिक तथा माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीले भाग लिएका थिए। प्रतियोगितामा कास्की मोर्डनाइज्ड स्कुलकी सिन्जल पुन पहिलो, कुमुदिनी होम्सकी अविशा पालिखे दोस्रो, कुमुदिनीकै सुहाना गुरुङ तेस्रो र पश्चिमाञ्चल एकेडेमीका श्याम शर्माले सान्त्वना पुरस्कार प्राप्त गरे। उनीहरूलाई पुरस्कारस्वरूप क्रमशः १०, ८/८ र ६ हजार नगदसहित सम्मानित गरियो। सो अवसरमा प्रतियोगी विद्यार्थीहरू अध्ययनरत विद्यालयलाई थप शैक्षिक सामग्री पनि प्रदान गरिएको नेपाल चीन जनमैत्री संघ, पोखराका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए। विद्यार्थीहरू कलाका अतिरिक्त अन्य रचनात्मक क्रियाकलापमा समेत सामेल हुन् भन्ने हेतुले ती सामग्री दिइएको उनले बताए। चीनले जनस्तरमै सम्बन्ध विस्तार गर्ने उद्देश्यले यस्ता प्रतियोगिता आयोजनामा ध्यान दिएको उनले बताए।

विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्दै प्राज्ञ तथा कलाकार रमेश श्रेष्ठले चित्रकलाकै माध्यमबाट जीवन बाँच्न सकिने भएकाले यो सिर्जजनशीलता मात्रै नभएर पेशा पनि बन्न सक्ने बताए। ‘हाम्रो पालामा चित्र कोर्नेहरूलाई हेरेर परिवारका मान्छेले यो बिग्रियो भन्थे’, उनले पुराना दिन सम्झँदै भने— ‘तर, म यही पेसाले बाँचेको छु, राम्रो चित्र बनाउने मान्छे चित्र बनाएरै बाँच्न सक्छन्।’ चित्रकारितालाई विशेष महत्व दिएकाले आगामी १० वर्षमा चीन संसारकै प्रमुख कला केन्द्र बन्ने उनले अनुमान लगाए।

प्रतिक्रिया दिनुहोस्