शैलेशको सांगीतिक संसार



गीत होस् वा फिल्म। त्यसमा संगीत संयोजनको पाटो महत्वपूर्ण मानिन्छ। यसको उत्कृष्ट संयोजनसँग गीत र फिल्मको चर्चा र व्यवसायसमेत जोडिएको हुन्छ। करिब दुई दशकदेखि यस्तै संगीत संयोजन गरेर नेपाली गीत संगीत र फिल्मलाई धनी बनाउँदै आएका छन् राजधानीका नक्सालका शैलेश श्रेष्ठ। २०६५ सालमा जब शैलेश यो क्षेत्रमा होमिए, त्यतिबेला दश कक्षामा पढ्दै थिए। त्यस समयमा उनको रुचि खासगरी हिपहप र र्‍यापतिर थियो। आप्mनो हिपहपमा अरूको संगीत किन लिनु भनेर उनले संगीत सिर्जना गर्न थालेका थिए। उनले आफूले बनाएको संगीतको प्रचारका लागि विभिन्न अनलाइन प्लेटफर्ममा राख्न थाले। सो क्रममा उनको संगीत अन्तर्राष्ट्रिय प्लेटफर्ममै बिक्री हुन थाल्यो। यसले संगीतबाट पैसा कमाउन सकिँदोरहेछ भन्ने प्रष्ट भएपछि शैलेशले यसैलाई निरन्तरता दिए।

अनलाइनमा संगीत बेच्ने क्रममा उनको काम नेपाली कलाकारले पनि थाहा पाउन थाले। ‘सो समय हिपपप धेरै चलेको थिएन। यसको सर्कल सानो थियो। त्यही पनि एक-दुई जना कलाकार संगीतका लागि आउन थाले’ श्रेष्ठले विगत सम्झिए ‘पहिले जिएक्ससोल भन्ने आए। उनको पूरै एल्बम गरें। त्यो एल्बमको रातभरि बोलको गीत हिट भयो। जिएक्ससोल ब्रान्डको रातभरि हिट भएपछि धेरै मानिस त्यस्तै संगीत संयोजन चाहियो भनेर आउन थाले। सो क्रममा गायक स्व. यमबुद्ध, मिङमा शेर्पालगायत धेरैको संगीत संयोजन गरेँ।’

एल्बमकै काममा व्यस्त रहँदै गर्दा फिल्म होस्टेलको गीत पनि उनकै हातमा परेछ। त्यसपछि उनले फिल्म आवरण गरे। ‘फिल्मको गीतमा नयाँ ट्रेन ल्याउनुपर्यो भनेर मकहाँ आएका थिए’ शैलेश भन्छन् ‘फिल्मका गीतका संगीत संयोजन गर्दै थिएँ। फिल्म निर्देशक सुवास कोइरालाले आवरणमा ब्याकग्राउन्ड म्युजिक गर्न हौस्याए। ट्राई गरौँ न भने काम शुरू गरें।’ फिल्ममा उनले दिएको पाश्र्व संगीतले चर्चा पायो। त्यसपछि जेरीलगायतका थुप्रै फिल्म उनकै हातमा पर्यो। त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन।

जेरी, दुई रुपैयाँ, सेल्फी किङ, घामड शेरे, घामपानी, जात्रै जात्रा, लुट २, ए मेरो हजुर २, ३ जस्ता ७० बढी फिल्मको संगीत संयोजन उनले गरिसकेका छन्। गीतको संख्या भने करिब पाँच सय नाघ्यो होला। जसमा चर्चित गायक गायिका निमा रुम्बा, यमबुद्ध, श्रेया सोताङ, सिवानी मोक्तान, मिङमा शेर्पा, सिओडी, बिएटल लगायतका पर्दछन्।

संगीत संयोजनको अलावा उनले हाउफन्नी, आवरणलगायत केही फिल्मका गीतमा समेत संगीत गरेका छन्। केही अगाडि मात्र स्वप्न सुमन र नितेश जंग कुँवरको गीतमा संगीत भरेका थिए। पछिल्लो समय एल्बमभन्दा पनि फिल्मको पाश्र्व संगीतमा व्यस्त उनी यो पेसाबाट निकै सन्तुष्ट छन्। कामबाट सन्तुष्टि मिले पनि कहिले पारिश्रमिक कम पाउने र कहिले पाउँदै नपाउने गरेको गुनासो भने उनको छ। नयाँले भन्दा पुरानाले ठग्ने गरेको थुप्रै अनुभव रहेछन् उनीसँग। गीतमा संगीत गर्नुभन्दा संगीत संयोजन गर्न सजिलो लाग्ने बताउने उनले आधुनिकदेखि लोकसम्मका थुप्रै गीतमा काम गरेका छन्।

कोरोनाको कारण अहिले फिल्म निर्माणमा ब्रेक लागेको छ। त्यसैले, उनीसँग यतिबेला फिल्मका काम कम र एल्बम बढी छन्। संगीतमा नाम र दाम दुवै कमाउन सफल उनको अहिले संगीतमै धेरै पढेर, सिकेर अगाडि बढ्ने चाहना छ। त्यसका लागि उनी अमेरिकाको बर्की युनिर्भसिटीमा संगीत सिक्न जाने तयारीमा छन्। त्यहाँ आफूले अकेस्ट्रा संगीत स्कोरिङलगायतका काम सिक्न चाहेको उनले बताए। कहीं कतैबाट संगीतको औपचारिक ज्ञान नलिएका उनले संगीतको अध्ययनले आफूले योभन्दा पनि बढी प्रगति गर्न सक्ने उनी बताउँछन्।

आफ्नो संगीत सिर्जना र दक्षताकै कारण उनले थुपै्र अवार्डलाई समेत आप्mनो बनाएका छन्। जस्तो कि अनमोल केसीको ड्रिम्स र गाजलुबाट उनले लगातार कामना फिल्म अवार्डस् २०७२ र ०७३ लाई आप्mनो बनाए। त्यसै गरी डि सिने अवार्ड २०७४, नेसनल बक्स अफिस अवार्ड २०७४ लगायत थुप्रै पुरस्कारसमेत पाउन सफल उनी कामना फिल्म अवार्डस्को सबैजसो संस्करणका साथमा नवौं सार्क फिल्म फेस्टिभल, नेफ्टा अवार्ड, राष्ट्रिय एनएफडिसी अवार्ड, डिसिने अवार्ड, एलजीअवार्डलगायत थुप्रै अवार्डमा धेरैपटक नोमिनेसनमा पर्नसमेत सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्