भुवन र दीपाको सम्झिनी पानी छम्किनी



पाँच महिनाअघि रिलिज भएको सुपरहिट गीत सम्झिनी पानी छम्किनी फेरि नयाँ भर्सनमा ल्याइएको छ।

गीतमाथि दमदार म्युजिक भिडियो पनि बनाइएको छ। जसमा अभिनेता निर्माता तथा निर्देशक भुवन केसी र अभिनेत्री, निर्मात्री तथा निर्देशक दीपाश्री निरौलादेखि अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री स्वस्तिमा खड्कासम्मलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। भुवन विल्कुलै नयाँ लुक्समा देखिएका छन् भने उनको जोडीका रूपमा दीपाश्रीलाई प्रस्तुत गरिएको छ। आकाश र स्वस्तिमा अर्को जोडीका रूपमा प्रस्तुत भएका छन् भने गीतका गायक सम्राट चौलागाईं र मोडल गीता ढुंगानालाई पनि म्युजिक भिडियोमा फिचर्ड गरिएको छ।

युट्युबमा ८० लाखपटक हेरिएको गीत हरितालिका तीजलाई लक्षित गर्दै शनिबार राजधानीमा आयोजित एक समारोहबीच तीज भर्सनमा सार्वजनिक गरिएको हो। गीतको म्युजिक भिडियोको विक्रम स्वाँरले निर्देशन गरेका छन्। चार पुस्ताको प्रतिनिधित्व गराएर तयार गरिएको गीतको भिडियोमा बाल कलाकारहरू जेभिन र जेभिस श्रेष्ठसँगै आस्युमी ढकाललाई पनि देख्न सकिन्छ। कार्यक्रममा भुवन र दीपाश्रीले रिल रोमान्सका रमाइला किस्सा सुनाएका थिए। गीतमा शब्द संगीत गायक चौलागाईंको रहेको छ भने संगीत संयोजन जीवन बाबुको रहेको छ। गीत गायक चौलागाईंका साथमा रचना रिमाल, स्मृति दाहाल र ममता गुरुङले गाएका छन्। म्युजिक भिडियो गायक चौलागाईंको युट्युब च्यानलबाट रिलिज गरिएको हो। म्युजिक भिडियोमा छायांकन नवराज उप्रेती र सम्पादन वीरबहादुर थारूको रहेको छ। भिडियो आइतबार दिउँसोसम्म ७६ हजार बढीले हेरिसकेका छन् भने भिडियोले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्