शैक्षिक सहकार्यका लागि दुई विश्वविद्यालयबीच सम्झौता



दीपेन्द्र शर्मा, सुर्खेत ।

शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्यालय सुर्खेत र बास्क कन्ट्री विश्वविद्यालय, स्पेनबीच सम्झौता भएको छ ।
मध्यपश्चिम विश्वविद्यालय र बास्क कन्ट्री विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि २०२१ मे १९ मा दुईपक्षीय सम्झौता भएको विश्वविद्यालयले जनाएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा.नन्दबहादुर सिंह र बास्क कन्ट्री विश्वविद्यालयतर्फबाट समकक्षी रेक्टर मारिया ईभा फेरेरिया गार्सियाद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौता पहिला भए पनि केही प्राविधिक कुरामा थप सहजीकरण भएपछि आइतवार सार्वजनिक गरिएको विश्वविद्यालयले जानकारी दिएको छ ।

दुई विश्वविद्यालयबीच अनुभव तथा वैज्ञानिक ज्ञान आदानप्रदान गर्दै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको वृत्ति विकास मार्फत समाज सेवामा योगदान दिनु यस सम्झौताको उदेश्य रहने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ । त्यस्तै दुई राष्ट्रबीच आपसमा सांस्कृतिक, वैज्ञानिक र शैक्षिक सम्बन्ध बलियो बनाउने, दुईटै विश्वविद्यालयका बिद्यार्थी तथा प्राध्यापकहरु आदानप्रदान गरी शैक्षिक सम्बन्ध स्थापित गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौता कार्यान्वयनका लागि मध्यपश्चिम विश्वविद्यालयतर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालय र बास्क कन्ट्री विश्वविद्यालयकातर्फ बाट अन्तरराष्ट्रिय सम्बन्ध भाइस (रेक्टरेट सम्पर्क व्यक्तिका रुपमा रहने मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले जानकारी दिनुभयो । उपकुलपति सिंहका अनुसार आम प्रावधान, स्नातक विद्यार्थीहरु बारे व्यवस्था, स्नातकोत्तर विद्यार्थी र संकाय, सम्झौता कार्यान्वयन तथा अवधि, सम्झौतामा अनुसूची रहेका छन । सम्झौताको सुरुको अवधिचार वर्षको रहनेछ भने त्यसपछि पुननवीकरण हुनेछ ।

शैक्षिक सत्र २०२२/२०२३ देखि प्राध्यापक तथा विद्यार्थीहरु आदान-प्रदान हुनेछन । सम्झौता लागु भएपश्चात दुई विश्वविद्यालय तथा देश बिच प्राध्यापक तथा विद्यार्थी आदान-प्रदान भई सुमधुर सम्बन्ध विस्तार हुने साथै प्राध्यापक, कर्मचारी तथा अध्यनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्