– आरोपको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्चको आग्रह
– छानबिन नसकिँदासम्म न्यायाधीशलाई न्याय सम्पादनबाट अलग रहन टीआई नेपालको सुझाव
– न्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न र संसदीय अनुसन्धान अघि बढाउन माग
काठमाडौँ ।
न्यायपालिकाको निष्पक्षता र न्यायाधीशहरूको आचरणमाथि प्रश्न उठिरहेका बेला सर्वोच्च अदालतको पूर्ण बैठकले आरोपको सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र छानबिन गर्न आग्रह गरेको छ ।
सोमवार बसेको पूर्ण बैठकले सार्वजनिक रूपमा उठेका प्रश्नबारे पूर्वाग्रहबिना निष्पक्ष र स्वतन्त्र ढंगले संविधान र कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । इनम सापकोटा प्रकरणमा सर्वोच्चका केही न्यायाधीशसमेत मुछिएपछि सर्वोच्चको फुलकोर्ट बसेको थियो ।
पूर्ण बैठकले छानबिनको निष्कर्ष नआउँदै कसैलाई लाञ्छित नगर्न सञ्चारमाध्यमलाई सचेत गराएको छ । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संविधान र कानुनको सर्वोच्चता आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको उल्लेख गर्दै कानुनको शासनप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको छ । पूर्ण बैठकले प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतमा कार्यरत न्यायकर्मीलाई विज्ञप्तिमार्फत आग्रहसमेत गरेको छ ।
सर्वोच्च अदालतको सोमवार बसेको पूर्ण बैठकले विभिन्न ५ बुँदे निर्णय सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षणसहित सर्वोच्च प्रशासनले विज्ञप्तिमार्फत ५ बुँदे निर्णय सार्वजनिक गरेको हो । जसमा प्रकाशित तथा प्रसारित विषयमा निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
पूर्ण बैठकले संविधान र कानुनको सर्वोच्चता तथा कानुनको शासनप्रति आफ्नो प्रतिबद्धता अटल रहेको जनाएको छ । साथै, सञ्चारमाध्यममा आएका समाचारबारे हुने छानबिन र अनुसन्धानमा कानुनबमोजिम जवाफदेहिता निर्वाह गर्न तथा सहयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
त्यस्तै, छानबिनको निष्कर्ष आउनुअघि कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ । पूर्ण बैठकले प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतमा कार्यरत न्यायकर्मीहरूलाई आग्रह गरेको छ ।
न्यायाधीशहरूमाथि तत्काल छानबिन गर्न माग
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक वृत्तमा प्रश्न उठेका न्यायाधीशहरूमाथि तत्काल छानबिन गर्न माग गरेको छ ।
सोमवार एक विज्ञप्ति जारी गरी नैतिकता र आचारसंहिता उल्लंघनको आरोपमा नाम जोडिएका न्यायाधीशहरूमाथि छानबिन हुनुपर्ने भनेको हो । ट्रान्सपरेन्सीले सञ्चारमाध्यमका समाचारहरूमा जोडिएका र आफूले स्पष्टीकरण दिएका न्यायाधीशहरूले इमानदारिता प्रदर्शन गरी प्रश्नहरूको समाधान नभएसम्म न्याय सम्पादनको काममा संलग्न नहुन सुझाव दिएको हो ।
न्यायालयमा विचाराधीन मुद्दासँग सम्बन्धित पक्ष, बिचौलिया वा प्रभावशाली व्यक्तिसँग न्यायाधीशले भेटघाट गर्नु वा सम्पर्कमा रहनु संवैधानिक, कानुनी तथा व्यावसायिक नैतिकता र आचारसंहिताको गम्भीर उल्लंघन हुने टीआई नेपालको निष्कर्ष छ । विचाराधीन मुद्दासँग सम्बन्धित पक्ष, बिचौलिया वा प्रभावकारी व्यक्तिहरूसंग भेट्नु वा सम्पर्कमा आउनु आचारसंहिताका दृष्टिकोणले उचित नहुने भन्दै उसले यस्तो अवस्थामा छानबिन अघि बढाउनुपर्ने भनेको हो ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विज्ञप्तिमा भनेको छ– ‘उठेका प्रश्नहरू गम्भीर प्रकृतिका भएका र न्यायालयको आमूल सुधार अत्यावश्यक रहेको तथ्य जगजाहेर रहेको सन्दर्भमा आक्षेप लागेका व्यक्तिहरूले दिएका सार्वजनिक स्पष्टीकरणहरूले मात्र उठेका प्रश्नहरूको समाधान दिन सक्ने अवस्था देखिँदैन ।’
न्यायाधीशहरूरूमाथि प्रश्न उठेमा अनुसन्धान गर्ने निकाय संसद् रहेको भन्दै ट्रान्सपरेन्सीले तत्काल संसदीय समितिमार्फत अनुसन्धान गरी आवश्यक निर्णय लिन भनेको हो । ट्रान्सपरेन्सीले सम्बन्धित न्यायाधीशहरूको सम्पत्तिको छानबिन गर्न पनि माग गरेको छ ।











प्रतिक्रिया