मध्यपुर ठिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरेसहित चार जना पक्राउ


काठमाडौँ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा ३३ लाख रुपैयाँ घुस प्रकरणमा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेसहित चार जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमवार घिमिरेसहित चार जनालाई पक्राउ गरेको हो ।

अख्तियारका अनुसार घुसको लेनदेन भइरहेको सूचनाका आधारमा नगरपालिकामा पुगेको टोलीले ३३ लाख रुपैयाँ बरामद गरेको थियो । नगरपालिकाबाट रकम लिएर फर्किरहेको बागमती प्रदेश ०१–३५ च २६८७ नम्बरको कारलाई नियन्त्रणमा लिने क्रममा कारका चालक भुवन ढुंगेलसहित अन्य व्यक्तिलाई पक्राउ गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत घिमिरेले आफन्तलाई बोलाएर घुस रकम व्यवस्थापन गरेको र रकम नगरपालिकाबाट बाहिर लैजान लगाएको आशंकामा अख्तियारले उहाँलाई समेत पक्राउ गरेको बुझिएको छ । घिमिरेकै योजनामा ठूलो रकम नगरपालिकामै बुझेर आफन्तमार्फत बाहिर लैजान लागिएको अवस्थामा अख्तियारले रंगेहात नियन्त्रणमा लिएको बताइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत घिमिरेले घुस रकम लिने कार्यमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । घटनामा उनको भूमिका र अन्य व्यक्तिहरूको संलग्नताबारे अख्तियारले अनुसन्धान गरिरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।