किशोरीले चोरिन् लासको सिक्री



ह्युस्टन, (एजेन्सी) ।

अमेरिकाको टेक्सास निवासी दुईजना किशोरीले आफूहरूले भेटाएको एकजना २५ वर्षीय पुरुषको शवबाट उनले लगाएका गरगहना चोरेका छन् । प्रहरीका अनुसार यतिले मात्र नपुगेर तिनीहरूले सो घृणित कार्यको भिडियो स्न्यापच्याटमा अपलोड गरेका छन् । ती व्यक्तिले मेडिना भ्यालीको ढलको खाल्डोमा झुन्डिएर आत्महत्या गरेको विश्वास गरिएको छ ।

१७ र १६ वर्षीया तिनीहरूविरुद्ध मानव शवबाट चोरी गरेको अभियोग लगाइएको बेक्सार काउन्टी प्रहरी कार्यालयले जनाएको छ । प्रहरी अनुसन्धाकर्ताहरूले सडकछेउको रेलिङमा आफ्नै कमिजको पासो लगाएर झुन्डिएको अवस्थामा फेलापरेका ती व्यक्तिले आत्महत्या नै गरेको हुनुपर्ने दाबी गरेका छन् ।

हिँड्दा हिँड्दै आफूहरू अचानक लाससँग ठोकिन पुगेको भन्दै ती किशोरीद्वयले नै प्रहरीलाई सोमबार घटनाबारे सूचित गरेका थिए । तर, त्यसको भोलिपल्टै सामाजिक सञ्जालमा प्रहरी घटनास्थल पुग्न त्यसअघिको तिनीहरूको चोरीको भिडियो भाइरल बनेकाले सजिलो भएको थियो । फोक्स सान एन्टोनियोका अनुसार ती ‘बेथानी मार्टिनֹ’ नामक १७ वर्षीया किशोरीले शवको छँतिमा झुन्डिएको सुनको सिक्री निकाल्दै गरेको देखिन्छ ।

प्रहरीलाई ती दुवैले चोरी गरेको स्विकारे पनि मानिसहरूको ध्यान तान्न भिडियो बनाएको बयान दिएका छन् । चोरिएको सिक्री भने फेला नपरेको बताइएको छ । १७ वर्षीया किशोरी दुई हजार डलर जमानतमा छुटेकी छन् ।

प्रतिक्रिया दिनुहोस्