ब्युटिक्विन पत्नीलाई देहव्यापारी भन्दै डाक्टरले पारपाचुके मागे



न्युयोर्क, (एजेन्सी) ।

अमेरिकाको न्युयोर्क शहरका निवासी चर्चित शल्यचिकित्सक हान जो किम र उनकी ब्युटिक्विन पत्नीबीचको पारपाचुके समस्या तक्कालै टुंगिएको छ । किमले आफ्नी पत्नी मिस कन्नेक्टिकट यूएसए रेगिना टर्नरलाई उनको दोश्रो काम महँगो दाममा देह बेच्नु रहेको दाबी गरेपछि वैवाहिक सम्बन्धविच्छेद्को स्थिति निम्तिएको थियो । हस्पिटल फर स्पेसल सर्जरीका डा. किम र टर्नरबीच अदालतमा सार्वजनिक सुनुवाइ हुनुअगावै सहमतिमै आइन्दा एउटै पलंगमा नसुत्नेबारे सहमति भएको अदालत प्रशासनको राज्य कार्यालयका प्रवक्ता लुसियान चाल्फेनले जानकारी गराएका छन् । म्यानह्याटमका सर्वोच्च अदालतमा दर्ता भएको दुई सय ६४ पृष्ठ लामो मुद्दा यसरी नाटकीय ढगले तुरुन्तै टुंगिएको हो ।

सो जाहेरीमा ४१ वर्षीय किमले सन् २०१५ को २७ नोभेम्बरमा आफूहरूबीच विवाह भएयता ३२ वर्षीया पत्नीले आफूबाट झन्डै सात लाख अमेरिकी डलर लिइसकेको दाबी गरेका छन् । तिनीहरूको अपर इस्टसाइडस्थित घरमा एक अपरिचित पुरुषले आफ्नो कम्प्युटरमा टेक्स्ट मेसेज पठाएपछि किमले सन् २०२० को डिसेम्बरमा नै सम्बन्ध विच्छेद्का लागि मुद्दा दायर गर्ने निर्णय गरेका थिए । तर, किमले यसै महिनाको शुरूमा मात्र म्यानह्याटम सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

उनले अदालतमा पेस गरेको कागजातमा उल्लेख छ– ‘गत अप्रिलमा छुटिएर बस्न थालेपछि मैले उनको दोहोरो जीवनबारे जानकारी पाएँ । मेरी पत्नीले विवाहअघिदेखि विवाहपछि पनि पैसाका लागि थुप्रै पुरुषहरूसँग यौन सम्पर्क गर्दै आइरहेकी रहेछ ।’

टर्नरको बैंक खातामा सन् २०१५ देखि २०२१ बीच कुल ६ लाख ७५ हजार ३० डलर जम्मा भएको देखिन्छ । न्युजर्सीस्थित रियल स्टेट कार्यकारिणी अधिकृत र संयुक्त अधिराज्यस्थित एकजना लाइटिङ डिजाइनरको कम्पनीलगायत थुप्रै व्यक्तिले उनको खातामा चेक पठाएको फेला परेको छ । टर्नरले कामको सिलसिलामा बाहिर जानुपरेको र आफ्ना केटी साथीहरू कतै घुम्न जान लागेको बहानामा पतिलाई छक्याउँदै आएको पनि बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्