स्कुटरमा आएर बहुमूल्य जुहारत लुटियो



पेरिस, (एजेन्सी) ।

फ्रान्सको राजधानी पेरिसस्थित एउटा गरगहना पसलबाट २३ लाख ६० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको हीरा जुहारत र अन्य अमूल्य पत्थर चोर्ने एक पुरुषको प्रहरीले खोजी गरिरहेको छ । करिब ५० देखि ६० वर्ष उमेरका ती अपरिचित पुरुष मंगलबार अपराह्न चाउमेट बुटिकमा आएर यसरी मज्जाले लुटपाट गरी भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

उनले एउटा हतियार निकालेर सो पसलमा जडित बम विस्फोट गराइदिने धम्की दिँदै लुटपाट गरेका थिए । यो स्टोर च्याम्पस एलिस्से शहर नजिकको धनीहरूको बसोबास रहेको क्षेत्रमा छ । सीसीटीभी क्यामेराले हल्का खरानी रङको लुगा मुकुन्डो लगाएका एकजना पुरुष पसलमा प्रवेश गरेको देखिन्छ ।

प्रहरीका अनुसार ती पुरुषले पसलका कर्मचारीहरूलाई धम्क्याउँदै बहुमूल्य सामान दिन बाध्य पारेको र पसलको साँचोसमेत लिएर उनले सबैलाई भित्र थुनेर हिँडेका थिए ।

यस घटनामा कुनै रक्तपात भने भएको छैन । ‘चाउमेट’ नामक यो गहना तथा जुहारत पसल विश्वभरि नै धनीहरूमाझ परिचित र लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस्