ब्राभित्र पैसा नराख्न सूचना जारी



लन्डन, (एजेन्सी) ।

महिलाहरूले ब्राभित्रबाट पैसा निकालेर तिर्ने तरिकाको सम्बन्धमा एकजना व्यापारीको भिन्नै धारणा बाहिर आएको छ । बेडिङका बिक्रेता माइकल फ्लिनका अनुसार तापक्रम ३० डिग्री सेल्सियसमाथि चढेका बेला महिलाहरूले ब्राले छोपेर राखेका नोट दिने गर्दा वाक्क दिक्क नै लाग्छ । यसरी पसिनाले भिजेका फोहरी नोट दिने महिलाहरूलाई निरुत्साहित गर्न उनले डब्लिनस्थित आफ्नो स्टोरबाहिर सूचनासहितको पोस्टर नै टाँसेका छन् ।

उनको ‘म्याट्रेस मिक’ नामक स्टोरमा ‘नो ब्रा मनी’ लेखिएको सूचना टाँसिएको छ । उनले गर्मीका बेला व्यक्तिगत स्वास्थ्य सुरक्षाको हिसाबले पनि आफूहरूले ब्रा मनी स्वीकार नगर्ने तथा यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति आफूहरू क्षमाप्रार्थी रहेको बताएका छन् ।

फेसबुकमा समेत अपलोड गरिएको सूचनामा उनले भनेका छन्– ‘सामाजिक दूरीलगायत हामीले यसलाई पनि सुरक्षा उपायको रूपमा लिएका छौँ । हामी सम्पूर्ण महिला ग्राहकलाई ब्राभित्र नभई आफनो युरो पर्स वा ह्यान्डब्यागभित्र राख्न आग्रह गर्दछौं ।’ केहीले यस सूचनालाई हाँसोमा उडाएका छन् भने केहीले समय परिस्थितिअनुसार यसलाई गम्भीररूपमै लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्