चीनको पारमाणविक कार्यक्रमप्रति अमेरिका चिन्तित



वासिङ्टन, (एजेन्सी) ।

चीनले आफ्नो पारमाणविक क्षेप्यास्त्र भण्डारण गर्ने प्रक्षेपण गर्ने क्षमता बढाइरहेको अमेरिकी वैज्ञानिकहरूले बताएका छन् । अमेरिकी वैज्ञानिक महासंघ (एफएएस) का अनुसार चीनको सिन्झियाङ प्रान्तको पश्चिम भागबाट प्राप्त भू–उपग्रह तस्वीरहरूबाट त्यहाँ पारमाणविक क्षेप्यास्त्र सिलो फिल्डको निर्माण भइरहेको देखिन्छ ।

अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरूले चीनको पारमाणविक हतियार निर्माणलाई लिएर चिन्ता प्रकट गरेका छन् । विगत दुई महिनाभित्र पश्चिमी चीनमा दोश्रो नयाँ सिलो फिल्ड निर्माण भइरहेको यो खबर सार्वजनिक भएको हो । यस क्षेत्रमा करिब एक सय १० वटा सिलो (स्टोरेज टावर) राख्न सकिन्छ । यस्तो भूमिगत स्थान क्षेप्यास्त्र प्रक्षेपण र भण्डारणका लागि राखिने गरिन्छ ।

गत महिना वासिङ्टन पोस्टले चीनको गान्सु प्रान्तको युमेनस्थित मरुभूमि क्षेत्रको एउटा साइटमा १ सय २० वटा सिलो देखिएको दाबी गरेको थियो । एफएएसले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा युमेनदेखि करिब तीन सय ४० किलोमिटर उत्तर–पश्चिममा रहेको हामीस्थित नयाँ साइट निर्माण कार्य प्रारम्भिक चरणमा रहेको जनाइएको छ ।

सन् २०२० मा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले चीनले पारमाणविक हतियारको भण्डारण परिमाण दोब्बर पार्न खोजेको जनाएको थियो । अमेरिका र रसियाबीच हातहतियार नियन्त्रणसम्बन्धी वार्ताका तयारीका क्रममा पेन्टागनले सो पछिल्लो सूचना सार्वजनिक गरेको थियो ।

अमेरिकी उप–विदेशमन्त्री वेन्डी सेम्र्यान र उनका रुसी समकक्षी सेर्गेई र्‍यावकोभबीचको यो वार्तालाई पारमाणविक हतियार कटौतीसम्बन्धी रोकिएको वार्ता ब्युँझाउने पहिलो पाइलाको रूपमा हेरिएको छ ।

तर, अहिलेसम्म चीनले यस्तो हतियार नियन्त्रणसम्बन्धी वार्तामा भाग लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्