औषधिको रुपमा तीतो नीम र पिरो पुदिना



– डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक)

नीम :

तराईदेखि पहाडसम्म करिब ३ हजार फीटको उचाइसम्म पाइने तीतो वनस्पति हो नीम । संस्कृतमा महानिम्ब भनिने नीमलाई हिन्दीमा बकाइनो भनिन्छ । भारतीय महाद्वीपको मौलिक वनस्पति नीमलाई इन्डियन इलियाक भनिन्छ । नीमको वैज्ञानिक नाम मेलिया एजाडिरिक्था हो । नीमको अन्य प्रजातिहरु पनि हुन्छन् । नीमको पात, जरा, बोक्रा, फलको गुदी औषधिको रुपमा प्रयोगमा ल्याइन्छ । आयुर्वेदमा नीमलाई आर्शोघ्न (पाइल्स नाशक) वर्गको औषधिअन्तर्गत राखिएको छ । तीतो र टर्रो रसको कारण यो कफ र पित्तलाई घटाउने अनि ताप उत्पादक हुने भएकोले यसले वात बढाउँछ । नीमको बोक्राको भित्री भागमा एक्टिभ कम्पोनेन्ट हुन्छ । बोक्राको बाह्य सतहमा स्टार्च र टैनिन हुन्छ । यसको फलमा एजारिडिन (मार्गोसिन), एक प्रकारको तरलीय पदार्थ, अम्लीय पदार्थ, स्टिराल, टैनिन तथा स्टार्च रहेको हुन्छ । बीउबाट ४० प्रतिशत जति एक प्रकारको तेल निस्कन्छ । अमेरिकी संस्था रोसवेक पार्क क्यान्सर संस्थानका अनुसन्धानकर्ताहरूले सन् २०१४ मा गरेको एउटा अध्ययनअनुसार नीमको बीउ, पात, फूल र फलले विभिन्न क्यान्सरमा एन्टि–ट्युमर प्रभाव देखाउँछ । नीमले रोगप्रतिरोधी शक्ति बढाई सुन्निएको कम गरेर, फ्री रेडिकललाई हटाएर, हर्मोनल गतिविधिलाई रोकेर र कोषिका विभाजनमा बाधा उत्पन्न गरेर क्यान्सरको उपचारमा सघाउँछ ।
नीमलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । दैनिकजसो नीमको प्रयोग गर्दा त्यसले मोटोपन घट्ने र उच्च रक्तचाप नियन्त्रणमा आउँछ ।
त्यस्तै एउटा अर्को अध्ययनअनुसार, नीममा औलोविरुद्घको गुण हुन्छ । यसको पातले औलोविरुद्घ लड्न सघाउँछ । अनुहारमा बारम्बार डन्डीफोर वा ब्ल्याकहेड हुँदा नीमको पातको प्रयोग गरे आराम मिल्छ । नीमको पानीले अनुहार धुँदा यो समस्या कम हुन्छ । आयुर्वेद चिकित्साअनुसार नीममा पाइल्स नाशक (अर्शोघ्न वटी), ज्वरनाशक, दुखाइनाशक, कुष्ठनाशक, घाउ पकाउने र सफा गर्ने, रगत सफा गर्ने, मधुमेह नाशक, गर्भाशय संकोचक, पेटको जुका मार्ने, कीरा–फट्याङ्ग्रा भगाउने, कीटनाशक आदि विशेष गुण हुन्छ ।
टाउको दुखेको बेला पात र फूलको लेप बनाएर लगाउन सकिन्छ । कुष्ठरोग, चर्मरोग तथा गलगाँड रोगमा नीमको पात र बोक्राको लेप बनाएर लगाउन सकिन्छ । पिलो, घाउमा पातको लेप लगाउन सकिन्छ । संक्रमणसँग बच्न नीमको बीउको माला धारण गर्न सकिन्छ । कपालमा नीमको पात र फूलको लेप लगाउँदा कपालमा हुने लिखा–जुम्रा हटाउन मद्दत पुग्छ । नीमको पात किताबभित्र वा कपडामा बाँधेर राख्दा त्यसले कीरा लाग्नबाट जोगाउँछ । साइटिकामा नीमको जराको प्रयोग लाभकर हुन्छ । पाइल्स तथा पेटमा जुका मार्न नीमको बोक्रा प्रयोग गरिन्छ । जुका परेको बेला नीमको सेवन गरिसकेपछि पखाला लगाउने औषधि अनिवार्यरुपमा खानुपर्छ । खोकी र स्वास बढेको अवस्थामा नीमको प्रयोग लाभकारी मानिन्छ । दुखाइयुक्त महिनावारीमा पनि नीमको सेवनले लाभ मिल्छ । यसले शरीरमा बन्ने विषलाई नाश गर्दछ साथै दुर्बलता घटाउँछ । नीम (पात र बोक्रा) को काँढा ५० देखि १ सय मि.लि. र फलबीजको चूर्ण १ देखि ३ ग्राम प्रयोग गर्नुपर्दछ । पेट दुखेको बेला, उल्टी भएको बेला, पखाला लागेको बेला, मात्तिएको बेला, प्यारालाइसिस भएको बेला आदिमा नीमको ७ देखी ८ वटा बीउ एकैपटक प्रयोग गरे रोगीको मृत्यु हुनसक्छ । अतः नीमको प्रयोग सचेत भएर गर्नुपर्दछ ।  नीमले शारीरमा हुने पसिनाको दुर्गन्धसमेत हटाउँछ । यस्तो बेला नीमको पानीले शरीर पखाल्ने वा पुछपाछ गर्ने गरे यस्तो समस्या हट्छ । नीममा एन्टि–ब्याक्टेरियल गुण हुन्छ । यसैले संक्रमण गर्ने जीवाणुसँग लड्ने तागत राख्छ । एउटा भाँडोमा पानी राखी त्यसमा नीमको पात हालेर पानीलाई केही समय उमालेर उपयोग गर्नुपर्छ । यस्तो पानीलाई नुहाउने पानीमा समेत मिसाएर नुहाउन सकिन्छ । नीममा हुने बहुगुणकै कारण मुख स्वास्थ्यको लागि यसको डाँठलाई परम्परागत हिसाबले दत्तिउनको रुपमा प्रयोग गरिन्थ्यो । यस्तो अभ्यासले पाइरियासमेत निको हुन्छ । नीमको पातको काँढा बनाएर कुल्ला गर्नाले दाँत र गिजा स्वस्थ रहन्छ । मुखबाट दुर्गन्ध आउन पाउँदैन । आजकल खानपिनदेखि टुथपेस्ट एवं विभिन्न सौन्दर्य प्रसाधनसम्ममा नीमको व्यापक उपयोग हुने गरेको छ । नीमलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । दैनिकजसो नीमको प्रयोग गर्दा त्यसले मोटोपन घट्ने र उच्च रक्तचाप नियन्त्रणमा आउँछ । भारत सरकारको केन्द्रीय आयुर्वेद एवं सिद्घ अनुसन्धान परिषद्को तथ्यपत्रअनुसार, छाला रोगमा नीमको १० मिलिलिटर पातको रस महसँग मिसाएर दिनमा दुईपटक खाने गरे फाइदा पुग्छ । नीमको पातको लेप लगाउँदा पनि छाला रोगका कीटाणु नष्ट हुन्छन् । कपालको चाया हटाउन एक मुठी नीमको पातको काँढा बनाएर नुहाउनुभन्दा एक घण्टाअघि टाउकोमा लगाउनुपर्छ । लकडाउनको समयमा अन्य औषधिहरुको सहज उपलब्धता नहुने हुँदा त्यसको विकल्पको रुपमा नीम र नीमबाट बनेका आयुर्वेदिक औषधिको प्रयोग बढी लाभकारी हुन्छ । यसरी सम्यकरुपमा सुलभ एवं निःशुल्क उपल्ब्ध हुने गुनिलो वनस्पतिलाई चिनेर एवं गुनेर प्रयोग गर्न सके शरीर, मन, इन्द्रीय सक्रिय र स्वस्थ राख्न सकिन्छ ।

पुदिना :

पुदिनाको वैज्ञानिक नाम मेन्था स्पाइकेटा हो । अंग्रेजीमा पुदिनालाई नै स्पियर मिन्ट वा गार्डेन मिन्ट भनिन्छ । पुदिनाको अन्य प्रजाति पनि हुन्छन् । मेन्था पिपरिटाबाट पिपरमिन्ट निकालिन्छ । एकै वर्षमा पटक–पटक उम्रिने पुदिना सदावहार झाडीदार कडा डाँठ भएको वनस्पति हो । पुदिनाको बोटको उचाइ १ दखि २ फिटको हुन्छ । हल्का लाम्चो, सुगन्धदायी ग्रन्थियुक्त, खस्रो पातयुक्त पुदिनामा फूल पनि लाग्छ । पुदिनाको मूल स्थान इङ्ल्यान्डको उत्तरी भूभाग भए पनि अहिले नेपाल र भारतका लगभग सबै स्थानमा पाइन्छ । पुदिनाको प्रयोज्य अंग भनेको पात नै हो । पातमा सुगन्धित तेल पाइन्छ, जसले गर्दा यसको पात टिप्दा कडा सुगन्ध आउने हुन्छ । त्यसको अलावा पुदिनाको पातमा प्रोटिन, फ्याट, कार्बोहाइड्रेट, मिनरल्स, क्याल्सियम, फस्फोरस, आइरन, कैरोटिन (भिटामिन ए), निकोटिनिक एसिड, राइबोफ्लेबिन, मियामिन, कपर आदि तत्वहरु पाइन्छन् ।
आयुर्वेद सिद्धान्तअनुसार पुदिनामा कफ र वातलाई घटाउने गुण हुन्छ । स्वादमा हल्का पिरो पुदिनाको सेवनले तत्काल चिसो अनुभूति भए पनि यसले अन्ततः शरीरमा उष्णता दिन्छ । यो शरीरमा छिट्टै पचेर जाने हुन्छ । पुदिनाको पातको रस ५ देखि १० मि.लि., काँढा २० देखि ४० मि.लि., तेल १ देखि ३ थोपाको मात्रा प्रयोग गर्नु स्वस्थकर हुन्छ । पुदिनाले खानामा रुचि बढाउँछ, आमाशयको अग्निबल बढाउँछ, उल्टी रोक्छ, पेटमा भरिएको ग्यास वायुको रुपमा निष्कासन गराउँछ । यसको साथै पुदिनाको सेवनले शरीरमा सञ्चित अधिक कफ बाहिर फाल्छ । अतः रुघाखोकी, हिक्कमा पनि यसको प्रयोग गरिन्छ । पटक–पटक पिसाब लगाएर शरीरको अधिक पानी फाल्छ  । बच्चा पाएर खुकुलो बनेको पाठेघरलाई खुम्च्याउँछ । ज्वरो घटाउन एवं शरीरको विष मार्न पनि पुदिनाको प्रयोग गरिन्छ । पेटको कीरा मार्न पनि यसको प्रयोग प्रभावकारी हुन्छ । हृदयको दुर्बलता हटाउन पनि यसको प्रयोग गरिन्छ । पुदिनाले दुखाइ घटाउँछ, दुर्गन्ध (मुख, काखी आदिको) नाश गर्दछ । कीटाणु नाश गर्नुको साथै घाउ पकाउँछ । दुखाइयुक्त महिनावारी सहज हुन्छ । प्रसुति महिलामा आउने ज्वरो शान्त गराउँछ । पुदिनको पात धोई–पखाली चिया एवं काँढाको रुपमा पटक–पटक सेवन गर्न सकिन्छ । चटनीको रुपमा पिसेर खानासँग खान पनि सकिन्छ । पातबाट डिस्टिलेसन विधिबाट तेल निकाली आवश्यकताअनुसार खान वा लगाउन वा मालिस गर्न सकिन्छ । यसरी सम्यकरुपमा सुलभ एवं निःशुल्क उपल्ब्ध पुदिना झारलाई चिनेर एवं गुनेर प्रयोग गर्न सके यसले पनि शरीर, मन र इन्द्रीय सक्रिय एवं स्वस्थ राख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्