…अनि महिलाको हड्डी भाँचिन्छ



– डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ)

अक्टोबर २० मा विश्वभरि नै ‘अस्टियोपोरोसिस दिवस’ मनाइन्छ । यो शब्द (Osteoporosis ) ल्याटिनको दुई शब्द मिलेर बनेको हुन्छ । अस्टियो (Osteo) अर्थात् हाड र पोरोसिस (Porosis) अर्थात छिद्र–छिद्र भएको हुनु । नेपालीमा यसलाई ‘फुसफुसे हाड’ पनि भनिन्छ ।

प्रजनन उमेरका महिलालाई उनीहरूको शरीरमा भएका विशेष हर्मोनहरूले प्राकृतिकरूपमा नै हाड फुसफुसे हुने समस्याबाट बचाएका हुन्छन् । उमेर बढेसँगै शरीरमा एस्ट्रोजोन हर्मोनको मात्रा कम हुँदै जान्छ । हाडहरूको घनत्व पनि कम हुने सम्भावना बढ्छ । हाडको घनत्व कम भए पनि बाहिरबाट हेर्दा खासै समस्या देखिँदैन । हाडको घनत्व कम भएमा सानो ठक्कर लाग्दा पनि हाड भाँचिन सक्ने सम्भावना धेरै हुन्छ ।

हाडमा यो समस्या बढेपछि नाडी, पुठ्ठा र मेरुदण्डको हाड भाँचिने सम्भावना बढ्छ । साथै उमेर बढ्दै जाँदा शरीर कुप्रिन्छ । कतिलाई त दैनिक काम र अन्य क्रियाकलाप गर्न पनि गाह्रो हुन्छ । यसरी हाडको घनत्व कम हुँदै जाँदा पनि लामो समयसम्म थाहा नहुने भएकाले यसलाई ‘मौन रोग’ (साइलेन्ट डिजिज) पनि भनिन्छ । यो समस्या धेरैजसो लडेर, ठोक्किएर वा कुनै कारणले हाड भाँचिएपछि एक्सरे गराउँदा निदान हुन्छ । तर हाड नभाँचिएको अवस्थामा हाडको घनत्व परीक्षण गराएर पत्ता लगाउन सकिन्छ । तर नेपालमा यसलाई खासै महत्व दिइँदैन अर्थात् आवश्यक ठानिदैन ।

हाडको घनत्व राम्रो हुनको लागि एस्ट्रोजोन हर्मोनका साथै भिटामिन ‘डी’ को पनि भूमिका हुन्छ । रगतमा भएको क्याल्सियमले हाड बन्ने र हाडको जीर्णोद्धार गर्ने प्रक्रियामा मद्दत पु¥याउँछ । तर भोजनमा क्याल्सियमको मात्रा कम भयो भने हाडमा पनि क्याल्सियम कम हुन्छ र घनत्व कम हुन जान्छ ।

अमेरिकाको एक अनुसन्धानअनुसार त्यहाँका झन्डै २५ प्रतिशत महिला अर्थात् ७० लाख महिलालाई फुसफुसे हाडको समस्या छ । पहिलेको जमानाका महिलाको भन्दा आधुनिक जमानाका महिलामा यो समस्या वृद्धि भएको छ । शाकाहारीलाई एक दिनमा ८ सय मिलिग्राम क्याल्सियम भए पुग्छ तर मांसाहारीलाई १ हजार २ सय मिलिग्राम जरुरत पर्छ । वयष्क मानिसको शरीरलाई दिनभरिका लागि पुग्ने क्याल्सियम बदाम, तिल, आलस, विभिन्न किसिमका साग, चीज, तोफु आदिबाट पनि प्राप्त गर्न सकिन्छ ।

४० वर्षको उमेर नाघेका ढाड दुख्ने समस्या लिएर जँचाउन आउने महिलामध्ये झन्डै ७५ प्रतिशतमा हाड फुस्फुसाउने समस्या हुन्छ ।

भिटामीन ‘डी’ ले हाम्रो शरीरको हाडका लागि अत्यन्त महत्व राख्छ । भिटामिन ‘डी’ सूर्यको किरणमा पाइन्छ । भिटामिन ‘डी’ ले शरीरमा क्याल्सियमको शोषण राम्रोसँग गर्न मद्दत गर्छ । यदि भोजनमा क्याल्सियम मात्र छ र भिटामिन ‘डी’ शरीरले प्राप्त गर्न सकेन भने भोजनमा भएको क्याल्सियमको शोषण हुन सक्दैन र हाडको जीर्णोद्धार प्रक्रिया कमजोर हुँदै जान सक्छ । सूर्यको किरणका अतिरिक्त भिटामिन ‘डी’ का अरू स्रोत अण्डा र माछा पनि हुन् ।

युरोपेली र अमेरिकी महिलाहरूमा यसबारे अनुसन्धान भएका छन् । भारतमा भएको एक अनुसन्धानमा झन्डै ६ करोड जनतालाई यो समस्या भएको पाइयो । ती मध्ये ७० प्रतिशत महिला नै थिए । प्राकृतिकरुपमा महिलाको हाडको घनत्व पुरुषको भन्दा कम हुन्छ । महिलाहरू प्रजनन उमेरमा रहुन्जेल उनीहरूको शरीरमा रहेको हर्मोनले हाडको घनत्व ठीक राख्न मद्दत गरेको हुन्छ । महिनावारी सुक्ने समय नजिक हुँदै जाँदा उनीहरुको शरीरमा हर्मोनहरूको मात्रा पनि कम हुँदै जान्छ र हाडको घनत्वमा समेत कमी हुन्छ ।

पुरुषहरूको शरीरमा रहेको टेस्टोस्टेरोन नामक हर्मोनले पनि समस्याबाट बचाउन मद्दत गर्छ । तर उमेर बढ्दै ५०–६५ वर्षतिर लागेपछि टेस्टोस्टेरोन कम हुँदै जान्छ र यो समस्या देखिन्छ ।

अति शारीरिक परिश्रम गर्ने, अत्यन्तै दुब्ला र धूमपान गर्ने महिलामा पनि यो समस्या बढी हुन्छ । हुन त नेपालमा यो समस्याबाट प्रभावित भएका कति छन् भनेर कुनै अध्ययन भएको छैन । केवल भारतमा भएको अनुसन्धानलाई आधार मानेर नेपालमा पनि यस रोगबाट पीडितहरू धेरै हुनसक्ने अनुमान गरिएको छ । प्रजनन एवं हर्मोन विशेषज्ञ डा. उमा श्रीवास्तवका अनुसार ‘४० वर्षको उमेर नाघेका ढाड दुख्ने समस्या लिएर जँचाउन आउने महिलामध्ये झन्डै ७५ प्रतिशतमा हाड फुस्फुसाउने समस्या हुन्छ ।

तनाव हुँदा पैदा हुने ‘कर्टिजोल’ नामक हर्मोनले गर्दा पनि हाडको स्वास्थ्य र घनत्वमा नकारात्मक असर पर्छ । अहिलेको अवस्थामा यो समस्याले ‘एक महामारीको रुप’ लिइसकेको कुरा जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

नेपालको सन्दर्भमा केही गाउँघरमा गर्भिणी र सुत्केरी अवस्थामा दूध, दहीजस्ता खाद्यवस्तुहरू प्रयोग गर्दा देवता रिसाउँछन् भनेर खान वर्जित गरिन्छ । जबकि यस्तो बेलामा आमालाई पोषणयुक्त र क्याल्सियमयुक्त भोजन बढी चाहिन्छ । यदि गर्भावस्थामा आमालाई भोजनमा क्याल्सियम कमी भयो भने पनि समस्या पर्न सक्छ । आमाको हाड पनि कमजोर हुन्छ । धेरै बच्चा भएका, बिँडी–चुरोट बढी खाने महिलाहरुलाई ३५–४० वर्ष नपुग्दै हाड कमजोर हुने समस्या शुरु भइसक्छ ।

विदेशतिर महिलाहरूलाई कुनै खास उमेर पुगेपछि हाडको घनत्व जाँच गर्ने सल्लाह दिइन्छ । समस्या देखिएमा हाडको घनत्व बढाउन विभिन्न उपायहरू पनि सिकाइन्छन् । किशोरी अवस्थादेखि रजोनिवृत्ति भइसकेका महिलासम्मलाई यो समस्या कसरी कम गर्ने भनेर सिकाउनुपर्छ ।

महिलाहरूमा ३० वर्षको उमेरपछि हाडको घनत्व बढ्न रोकिन्छ । यसैले नै किशोरावस्थामा खाएको स्वस्थ भोजनले भविष्यमा ‘हाड फुसफुसे’ हुनबाट जोगाउन सक्छ । क्याल्सियमयुक्त खानाको कमी, रक्तअल्पता, अस्वस्थ जीवनशैली, धेरै चिनी र नून हालेको पत्रु खाना, धेरै गुलियो पेयपदार्थहरूले हाडको मात्र होइन सम्पूर्ण शरीरको स्वास्थ्य खराब गर्छन् ।

त्यसैले चाउचाउ, चिजबलजस्ता तयारी खाद्यपदार्थ तथा कोक, फ्यान्टाजस्ता पेयपदार्थले नोक्सान नै बढी गर्छन् भन्ने बुझ्नुपर्छ । गर्भवती र दूध ख्वाइरहेकी महिलालाई दिइने भोजनमा लौहतत्व र क्याल्सियम होस् भनेर चाकु, सख्खर आदिको प्रयोग गर्न सकिन्छ । खानामा भएको क्याल्सियम पेटमा गएर राम्रोसँग शोषण हुनु पनि जरुरी छ । त्यसको लागि खाना खाँदा मरिचको धूलो खानामा हालेर खानु उपयुक्त हुन्छ । मरिचमा रहेको ‘पिपेराइन’ नामक रसायनले शरीरमा खाएको भोजनबाट भिटामिन ‘ए’, ‘डी’ र ‘के’, को साथै म्यग्नेसियम र पोटासियम पनि शोषण गर्न मद्दत गर्छ । पिपेराइनको अनुपस्थितिमा यी वस्तुहरू राम्रोसँग शोषण नहुन सक्छन् । साथै पिपेराइन नामक तत्वमा संक्रमण कम गर्ने र शरीरका कोषहरूलाई चाँडो बूढो हुने प्रक्रियाबाट बचाउने गुण पनि हुन्छ ।

मांसाहारी व्यक्तिहरूका निम्ति अण्डा क्याल्सियमको एउटा राम्रो स्रोत हो । यसको साथै अण्डाको बाहिरी खोलमा पनि पर्याप्त मात्रामा क्याल्सियम हुन्छ । अण्डाको खोललाई मसिनो पारी पिसेर तरकारीको सूपमा हाली खाँदा पनि पर्याप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । गर्भवती र दूध ख्वाइरहेकी महिलाले पौष्टिक खाना खाए भ्रुण र शिशु दुवै स्वस्थ रहन्छन् । कति जनाले शाकाहारी व्यक्तिलाई क्याल्सियम कम हुन्छ भन्छन् । शाकाहारी व्यक्तिले दूध, दही, भटमास, बदाम, राजमा, चिज आदिबाट पनि पर्याप्त मात्रामा क्याल्सियम पाउन सक्छन् ।

विभिन्न अध्ययन–अनुसन्धानले के देखाएका छन् भने, हाडको घनत्वलाई बढाउन विभिन्न शारीरिक क्रियाकलाप जस्तै– हिँड्ने, दौडने, भर्‍याङ चढ्ने आदि क्रियाहरू निकै महत्वपूर्ण छन् । आधुनिकताको अन्धो दौडमा कतै तपाईंले हिँड्नै छोड्नुभयो भने तपाईंको हाड कमजोर हुँदै जान्छ ।

सूर्यको किरणबाट शरीरलाई प्राप्त हुने भिटामिन ‘डी’ ले क्याल्सियम शोषण गर्न मद्दत गर्छ । हामीलाई दैनिक ३ सय ५० युनिट भिटामिन ‘डी’ जरुरत पर्छ । शरीरमा क्याल्सियमको शोषण राम्रोसँग होस् भनेर चाहिने भिटामिन ‘डी’ हामी सहजैसँग दिनको १५–२० मिनेट घाममा बसेर प्राप्त गर्न सक्छौं । घाममा बस्दा सूर्यको किरण नाङ्गो छालामा परेको हुनुपर्छ ।

‘भोजनबाट मात्र तपाईंको शरीरमा क्याल्सियम प्राप्त हुन सक्दैन’ भन्ने भ्रमपूर्ण विज्ञापनले ‘क्याल्सियमको चक्की’ खाने सल्लाह दिन्छन् । तर स्वस्थ जीवनशैली, योगासन, व्यायाम, स्वस्थकर भोजन भयो भने क्याल्सियम चक्कीको जरुरत पर्दैन । हड्डीे अस्वस्थ भएर ‘फुसफुसे हाड’ हुने कारणहरूमध्ये अल्छीपन, कुपोषण, एकदम थोरै वा बढी मोटोपन, पत्रु खाना, खाएको खानाको राम्रोसँग पाचन नहुनु, अति तनाव वा चिन्ता, विभिन्न किसिमका संक्रमण पनि हुन् । पहिलेको तुलनामा स्वस्थकर खाना खाने शैली बदलिएको छ । अफिसमा र घरमा काम गर्दा शारीरिकरुपमा बढी चलायमान भइन्न । एकै ठाउँमा बसेर धेरै समय काम गर्ने, वातानुकूलित कोठामा बस्ने, घाममा नबस्ने आदि विभिन्न कारणले हाडको स्वास्थ्यमा नकारात्मक असर पर्छ । यसले गर्दा सम्पूर्ण स्वास्थ्यमा नै नराम्रो असर पर्छ । विभिन्न जोर्नी, ढाड, कम्मर आदि दुख्नुको अर्थ हाडको स्वास्थ्य नराम्रो हुनु हो भन्ने बुझ्नुपर्छ ।

पहिले–पहिले गाउँघर र शहरमा समेत धेरै हिँड्ने चलन थियो । केही मालसामान बोकेर पनि हिँडिन्थ्यो । घरमा पकाएका स्वस्थकर खाना खाने चलन थियो । अहिले विभिन्न कारणवश ‘माटोको स्वास्थ्य’ पनि बिग्रिएको छ । अहिले विभिन्न गुलियो पेयपदार्थ, केक, बिस्कुटजस्ता खानाहरू बढी खाँदा पनि तिनले शरीरमा क्याल्सियम तथा अन्य पौष्टिक तत्व प्राप्त गर्न गाह्रो छ । साथै विभिन्न किसिमका रसायनहरूले पनि खानामा भएको पौष्टिकता नष्ट गर्छन् ।

प्रतिक्रिया दिनुहोस्