नेपाल रेडक्रसको आर्थिक वर्षको सञ्चालन घाटा १ करोड ६८ लाख ६२ हजार १८० रुपैँया



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा रक्तसञ्चार सेवाको प्रारम्भिक बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७७–०७८ मा नेपाल रेडक्रसबाट दुई लाख ४२ हजार ४८ यूनिट रगत संकलन गरिएको र तीन लाख ३१ हजार चार सय ५६ यूनिट रगत तथा रक्ततत्व विरामीलाई उपलब्ध गराइएको उल्लेख गरिएको छ ।

२०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन हुँदाको वर्ष जम्मा १ सय ५७ यूनिट रगत संकलन गरिएको थियो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालमा रक्तसञ्चार सेवाको ५५ औँ स्थापनाको दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवामा आयोजित मूल कार्यक्रममा यो जानकारी दिइएको हो । अघिल्लो बर्ष देशभरीमा २ लाख ३८ हजार ८ सय ३६ युनिट रगत संकलन भई ३ लाख २१ हजार ७ सय ७६ युनिट रगत र रक्ततत्व वितरण भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन बर्षपछि अर्थात् वि.सं २०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको थियो ।

प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले स्वयंसेवी रक्तदाता र रक्तदान गर्ने संघसंस्थाहरुलाई धन्यवाद व्यक्तगर्नुहुँदै रक्तसञ्चार सेवालाई दिर्घकालिन विकासको लागि सबैक्षेत्रसँगको हातेमालोमा अगाडि बढ्नु पर्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले नेपालको जनसंख्याको २ प्रतिशत मानिसले नियमित रक्तदान गर्न सके आवश्यक परेको समयमा रगत सहजै पाउन सकिने भएकोले थप रक्तदान उत्प्रेरणा बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेरेसो केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले रक्तसञ्चार सेवा सञ्चालन, विकास र विस्तारमा नेपाल सरकारका विभिन्न निकायहरू, यूवा, विद्यार्थी, मजदुर, पेशा व्यवसायी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राजनैतिक दल र भातृसंगठन लगायत आम रक्तदाता, शैक्षिक संस्था, सहकारी, वित्तीय संघसंस्था, नियमित रक्तदान कार्यक्रम गर्ने संघ संस्था, रक्तदाताहरूका सञ्जालहरू, रक्तदान कार्यक्रम आयोजकहरू, विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सक्रिय सहयोगको आभार व्यक्त गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटीले काठमाडौंमा केन्द्रीय रक्तसञ्चार सेवाको अलावा विराटनगर, भरतपुर, पोखरा, नेपालगंज र धनगढी गरी ५ स्थानमा प्रदेश रक्त सञ्चार सेवा संचालन गरीरहेको जानकारी गराईयो । यसैगरी २२ जिल्लामा जिल्ला स्तरीय, विभिन्न जिल्लाको ४१ स्थानबाट आकस्मिक रक्त सञ्चार सेवा प्रदान गरिएको र विभिन्न ४९ वटा अस्पतालबाट पनि रक्त सञ्चार सेवा प्रदान भइआएको नेरेसोले जनाएको छ । साथै नेपालको ७० जिल्लाका १ सय १७ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरू क्रियाशिल छन् ।
आर्थिक वर्ष २०७७–७८ को प्रारम्भिक प्रगति प्रतिवेदनको सारांश निम्नानुसार छ ।

यसरी वितरण गर्दा केन्द्रीय रक्तसञ्चार सेवामा ५२ दशमल्भ ७८ प्रतिशत र देशभरी औषत कम्पोनेन्ट सेवा ५० दशमल्भ ५९ प्रतिशत रहेको छ । विभिन्न संघ–संस्थाहरूको सहयोगमा केन्द्रीय रक्त सञ्चार सेवाद्वारा ५ सय ८७ वटा घुम्ती रगत संकलन कार्यक्रम भएको छ ।
गत आर्थिक वर्षको रक्त संकलनको तुलनामा करीब एक प्रतिशतले मात्र वृद्धि भएको अवस्था छ । जसमा पुरूष रक्तदाता ८४ दशमल्भ ५ प्रतिशत र महिला रक्तदाता १५ दशमल्भ ५ प्रतिशत रहेको छ । यस वर्ष पनि कोभिड–१९ को संक्रमण जोखिमको कारण रक्त संकलन र वितरणमा कमी आएको छ ।

केन्द्रीय रक्तसञ्चार सेवाको यस आर्थिक वर्ष २०७७।०७८ को लेखा परीक्षण हुन अघिको वार्षिक खर्च ३ करोड ८८ लाख ३८ हजार २ सय ५० रुपैया (रू.३,८८,३८,२५०।–) रहेको छ भने आम्दानीतर्फ रक्तसेवा बापत शुल्क २ करोड १९ लाख ५७ हजार ७० रुपैया (रू.२,१९,५७,०७०।–) रहेको छ । यस हिसाबले यस आर्थिक वर्षको सञ्चालन घाटा १ करोड ६८ लाख ६२ हजार १ सय ८० रुपैया (रू. १,६८,६२,१८०।–) रहेको छ । यसको परिपूर्तिको लागि नेपाल सरकारका विभिन्न निकाय र दाता निकायहरूसँग सहयोगको लागि समन्वय भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्