हेड एन्ड नेक क्यान्सरका बिरामी बढ्दै



काठमाडौं, नेस ।

टाउकोमा मस्तिष्कबाहेकका नाक, कान, घाँटीमा हुने ‘हेड एन्ड नेक’ क्यान्सर रोगले नेपाली समाजमा डरलाग्दो जरो गाडिसकेको भन्दै क्यान्सर विशेषज्ञहरूले सुर्तीजन्य पदार्थको प्रयोगलाई त्याग्न सुझाव दिएका छन् ।

नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर, नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारका लागि सहयोगी हातहरू नेपालले मंगलबार संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा यस्तो सुझाव दिइएको हो । कार्यक्रममा क्यान्सर विशेषज्ञहरूले क्यान्सरको मूल जरो चुरोट, खैनी र सुर्ती नै भएको र योसँग रक्सी पनि खानु भनेको आगोमा घिउ थप्नुजत्तिकै हुने बताएका छन् । कार्यक्रममा पानपरागका पारखी कन्चन शर्माले आफ्नो जिब्रोमा आएको सानो घाउ क्यान्सरमा परिणत भएपछि ९० प्रतिशत जिब्रो काट्नुपरेको जानकारी दिँदै भन्नुभयो– ‘धन्न, चिकित्सकको प्रयास र मेरो आत्मबलले क्यान्सर जित्न सफल भएँ ।’

हेड एन्ड नेक क्यान्सर महिलाको दाँजोमा पुरुषमा बढी भेटिएको अनुसन्धानबाट देखिएको छ ।

नेपाल क्यान्सर अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठले मस्तिष्क, आँखा, घाँटी, नाक, टाउकाको क्यान्सरलाई हेड एन्ड नेक क्यान्सर भनिने जानकारी दिँदै भन्नुभयो– ‘घाँटीको क्यान्सर उपचार गरेका बिरामीलाई विशेष गरी पानी खाँदा पनि ध्यान पुर्‍याएन भने सर्किने र गाह्रो हुने हुनसक्छ । त्यसै गरी रुद्रघण्टीको शल्यक्रिया गरेपछि स्वर बन्द हुन्छ, यसका लागि स्पीच थेरापी जरुरी हुन्छ ।’

नेपालमा वर्षेनी १२ देखि १३ हजार हेड एन्ड नेक क्यान्सरका बिरामी पहिचान हुँदै आएको बताइएको छ । तीमध्ये ६० देखि ७० प्रतिशत बिरामी जटिल अवस्थामा मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्