एकै दिन एकै समयमा तीन शहरमा रुद्री पाठ



नेपाल समाचारपत्र, काठमाडौं ।

कोरोना महामारीबाट मुक्ति पाउन खोप आएको छ । खोप लगाएपछि मान्छेहरूमा कोरोनासँग डर कम भएको देखिन्छ । महामारीबाट बच्न खोप बन्नु वैज्ञानिक उपाय हो । तर, धार्मिक तरिकाले पनि महामारीबाट मुक्त पाउन सकिने धार्मिक विश्वास रहेको छ ।

यसैक्रममा काठमाडौं उपत्यकाको तीनै शहरमा राजोपाध्याय समाजले एकैपटक रुद्रीपाठ आयोजना गरेको छ । रुद्रीपाठ तीनै शहरको दरबार क्षेत्रमा आयोजना भएको हो ।

राजोपाध्याय समाजका अध्यक्ष सञ्जय शर्मा राजोपाध्यायले ब्राह्मण भएको हिसाबले ब्राह्मणकै हतियार धार्मिक अनुष्ठानबाट महामारीबाट मुक्त हुन यस्तो कार्य गरेको बताउनुभयो । अध्यक्ष राजोपाध्यायले भीडभाड नगरी सामाजिक दूरी कायम गरी रुद्री पाठ गरेको बताउँदै भन्नुभयो– ‘वैज्ञानिकहरूले खोप बनाउँदै छन्, चिकित्सक, स्वास्थ्यकर्मीले उपचार गर्दै छन्, व्यापारीहरूले उपचार, खोपका लागि आर्थिक सहयोग गर्दै छन् । हामी ब्राम्हण समुदाय, वेद पाठ गर्छौैं, वेद पाठ गरेर कोरोना महामारीबाट मुक्तिको कामना गर्‍यौँ।’

यस पञ्चाभिषेक रुद्री कार्यक्रमलाई प्रत्येक महिनाको एकपटक गरी एक वर्षसम्म सञ्चालन गर्ने राजोपाध्याय समाजले जनाएको छ । प्रत्येक महिना शिवबास हेरी शुभ दिनमा रुद्री कार्यक्रम गर्ने अध्यक्ष राजोपाध्यायले बताउनुभयो ।

काठमाडौं उपत्यकाको तीनै शहरका दरबार क्षेत्रको शिवालयमा एकै दिन एकै समयमा पञ्चाभिषेक रुद्री पाठ कार्यक्रम गरिएको हो । राजोपाध्याय समाजले कोरोना महामारीबाट मुक्ति साथै देश र जनताको सुस्वास्थ्यको कामना गर्दै पञ्चाभिषेक रुद्री कार्यक्रमको आयोजना गरेको हो । पञ्चाभिषेक रुद्री कार्यक्रममा प्रत्येक जिल्लामा पाँच/पाँच जना राजोपाध्याय देव ब्राम्हणहरूले वेद पाठ गरेका थिए ।
महादेवलाई विभिन्न वस्तुले अभिषेक गराउँदा विभिन्न फल प्राप्त हुने विश्वास रहेको छ । कुश राखेर जलले महादेवको अभिषेक गराउँदा रोग नाश हुने धार्मिक विश्वास छ । त्यस्तै शख्खरबाट गरिने रुद्रीले मानसिक रोगको समस्या निराकरण हुने, घ्यूको रुद्रीले हरेक प्रकारको रोगबाट मुक्ति पाइने विश्वास समाजमा रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्