वकिलको प्रशंसा गर्ने कृषकलाई १८ वर्ष कैद



बेइजिङ, (एजेन्सी) ।

वकिलहरूको प्रशंसा गरेकै कारण चीनका एकजना नाम चलेका बंगुरपालक कृषकलाई अठार वर्ष लामो कैद सजाय तोकिएको छ । राष्ट्रपति सी जिनपिङको सरकारले कानुन व्यवसायी अभियन्ताहरूमाथि दमन गरिरहेका बेला ‘सुन दाउ’ नामक ती किसानले वकिलको प्रशंसा गर्दै तिनीहरूको पक्षमा बोलेका थिए ।

उनलाई सरकारी अधिकारीहरूमाथि आक्रमण गर्ने तानावाना बुनेको लगायत अन्य अभियोगहरू लगाइएको छ । हेवेई प्रान्तस्थित बेइजिङको गाओवेइदियानको अदालतमा मुद्दा समान गर्ने २० जनामध्ये दाउ केफी समूहका अध्यक्ष सुन दाउ पनि एक हुन् । सन् २०२० मा दाउका कर्मचारीहरूले एउटा सरकारी इन्टरप्राइजेजलाई कम्पनी भवन भत्काउन नदिँदा प्रहरीले यी २० जनालाई पक्राउ गरेको हो ।

गाओवेइदियानको जनअदालतद्वारा जारी गरेको विज्ञप्तिमा सुनलाई ४ लाख ८० हजार अमेरिकी डलर जरिवाना गरिएको पनि उल्लेख छ । अदालतले सुनलाई सरकारी संस्थामाथि आक्रमण गराउन मानिस जम्मा पारेको सरकारी मामिलामा दखल दिएको, झगडा शुरू गरेको, उत्पादन नष्ट गरेको, अवधै रूपमा खानी चलाएको तथा अवैधरूपमा खेती गरेको र जनताको पैसा संकलन गरेको जस्ता अभियोगमा दोषी ठहर्‍याएको छ ।

दाउ समूहका अनुसार अन्य दोषीलाई जनही १ देखि १२ वर्षसम्म कैद सजाय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्