भारतको बरेलीबाट तीन बच्चाको उद्धार



बाँके, (नेस) ।

पाँच महिना अघि हराएका बाँके कोहलपुरका तीन बच्चा भारतको बरेलीमा फेला परेका छन् । उनीहरूलाई सोमबार कोहलपुर ल्याएर घरपरिवारको जिम्मा लगाइएको छ ।

कोहलपुर नगरपालिका–४, बेलनपुरका नौ वर्षीय रोशन वादी, सात वर्षीय विशाल वादी र पाँच वर्षीया पूजा वादी पाँच महिना अघि हराएका थिए । उनीहरू नेपालगञ्ज, भारतको रूपैडिहा हुँदै बरेली पुगेको खुलेको छ । रोशन र विशाल दाजुभाइ हुन् ।

बरेली पुगेर उद्धार गरेका वडा नं. ४ का अध्यक्ष तिरथराम थारुका अनुसार, तिनै जना हिँडेर रूपैडिहा पुगेका थिए । रूपैडिहामा कसैले ट्रकमा बसाइदिएको थियो । ट्रकचालकले बरेली भन्दा दुई किलोमिटर टाढा झारिदिएको थियो । सडकमा हिँडिरहेका बच्चालाई महिला विभाग, बरेलीको टोली फेला पारेर अनाथलयमा पठाइदिएको थियो ।

लकडाउनका बेलामा हराएका ती बच्चाको बाँकेमा व्यापक खोजी भएको थियो । विशेष गरेर वडा नं. ४ का वडाध्यक्ष थारु बच्चा खोज्न दौडिएका थिए । वडाध्यक्ष थारु बरेली पुगेर त्यहाँका मेजिस्टेटलाई भेटेका थिए । रूपन्देहीको मानव कल्याण मित्र मञ्चको सहयोगमा वडाध्यक्ष थारुले बच्चालाई कोहलपुर लिएर आएका छन् ।

राती कोहलपुरमा ल्याइएका बच्चालाई सोमबार घरपरिवारको जिम्मा लगाइएको छ । बालबालिकाको घरपरिवारको आर्थिक अवस्था कमजोर रहेको छ । तिनै जना बच्चाको आमा साथमा छैनन् । दोस्रो विवाह गरेर बसेका छन् । घरपरिवारले राम्ररी रेखदेख गर्न नसकेकाले बालबालिका ‘जहाँ पुगे, पुगिन्छ’ भनेर हिँडेको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्