चुहिएरै गयो १२ हजार लिटर इन्धन



हेटौंडा, (नेस) ।

डिजल र पेट्रोल बोकेको ट्यांकर सोमबार बिहान करिब पौने ६ बजे उत्तरी मकवानपुरको थाहानगर कुन्छालमा दुर्घटना हुँदा करिब १२ हजार लिटर इन्धन चुहिएरै नष्ट भएको छ ।

बाराको अमलेखगञ्जबाट मकवानपुरको सिस्नेरीका लागि पेट्रोलियम पदार्थ बोकेर त्रिभुवन राजपथ हुँदै कुन्छाल–कुलेखानीको बाटोबाट जाँदै गरेको ना७ख ५२१८ नम्बर ट्यांकर कुन्छाल पुलबाट खोल्सामा खसेको थियो । दुर्घटनामा चालक र सहचालक सामान्य घाइते भएका छन् ।

पुलको मुखको जमिन भासिएर सडक साँघुरो हुँदा ट्यांकर दुर्घटना भएको बस्ताकोटी आयल सञ्चालक शंकर बस्ताकोटीले जानकारी दिनुभयो । असार १८ मा अविरल वर्षाले डुक्चेबजारमा रहेको पुल जोडिएको जमिन खोतलेपछि उक्त क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढेको थियो ।

ट्यांकर सडकबाट करिब ६ मिटर तल खसेर कोल्टिएको र च्याम्बरबाट इन्धन चुहिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । ट्यांकर पल्टिएर इन्धन चुहिन थालेपछि आगलागी हुने जोखिम बढेको भन्दै उक्त क्षेत्रमा थाहा नगरपालिकाको दमकल तयारी अवस्थामा राखिएको थियो । उक्त ट्यांकरले बस्ताकोटी आयल स्टोर्स सिस्नेरीका लागि ९ हजार लिटर डिजेल र ३ हजार लिटर पेट्रोल बोकेको थियो ।
वर्षाले भत्किएको सडक बनाउन यसअघि नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले तारजाली र ढुंगा नगरपालिकाले व्यवस्था गर्ने र जनशक्ति नेपाली सेना प्रयोग गर्ने निर्णय गरिए पनि हालसम्म काम अगाडि बढ्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्