तन्ना प्रयोग गरी क्वारेन्टाइनबाट भागे एक पुरुष



सिड्नी, (एजेन्सी) ।

अस्ट्रेलियाको पर्थ शहरमा नियमअनुसार क्वारेन्टाइनमा राखिएका एकजना पुरुष बसैकै होटेलबाट भागेका छन् । प्रहरीका अनुसार उनी तन्नाहरू जोडेर बनाइएको डोरी प्रयोग गरी एउटा होटेलको चार तल्लाको झ्यालबाट भागेका थिए । अस्ट्रेलियामा कोरोना भाइरस फैलिन नदिन बनाइएको कडा नियमअनुसार ब्रिस्वेनबाट विमान चढेर पश्चिम तटीय शहर पर्थमा आइपुगेका उनलाई त्यहाँ प्रवेश गर्ने अनुमति दिइएको थिएन ।

नाम नखुलाइएका ती व्यक्तिलाई ४८ घण्टाभित्र राज्य छाड्न स्थानीय प्रशासनले आदेश दिएको थियो । एउटा होटेलमा अस्थायी क्वारेन्टाइनमा राखिएको अवस्थामा उनी त्यहाँबाट भागेका थिए । प्रहरीले उनले सडकसम्म पुग्नेगरी प्रयोग गरेको तन्नाको डोरीसहितको तस्वीर सार्वजनिक गरेका छन् । ३९ वर्षीय ती पुरुषलाई आठ घण्टापछि शहरकै अर्को स्थानबाट पक्राउ गरिएको थियो । उनीविरुद्ध गलत सूचना दिएको र सरकारी निर्देशन उल्लंघन गरेको अभियोग लगाइएको छ । तर, प्रहरीले ती व्यक्तिको पीसीआर परीक्षण नेगेटिभ भएको जानकारी दिएको छ ।

विश्वका थुप्रै विकसित मुलुकका तुलनामा अस्ट्रेलियामा कोरोना भाइरस संक्रमित हुने र मर्नेको संख्या निकै थोरै छन् । किनकि, त्यहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय सिमाना बन्द गरेर विदेशबाट मात्र नभई कुनै अर्को राज्यबाट आउने जो कोहीलाई होटेलमा क्वारेन्टाइनमा राखिने कडा नियम बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्