लम्की टीकापुर सडकमा ब्रेकर र खाल्डैखाल्डाले आवागमनमा सास्ती



न्युज अफ नेपाल, धनगढी ।

लम्की टीकापुर सडकमा बनाइएका ब्रेकर र सडकमा परेका खाल्डाले यातायात आवागमनमा निकै समस्या भएको छ । पाँच वर्ष अघि भारत सरकारको सहयोगमा कालोपत्रे सम्पन्न भएको एक वर्षमै भत्कन शुरु गरेको सो सडकमा वर्षात याममा पर्ने खाल्डाहरुले यातायात आवागमनमा समस्या हुने गरेको थियो । हरेक वर्षको वर्षातको समयमा टीकापुरको बाटो खरावीले गर्दा आवागमनमा समस्या हुँदै आएको थियो ।

उक्त सडक कालोपत्रे नभएका कारण त्यस क्षेत्रका जनताले भोग्दै आएको समस्याप्रति सरोकारवाला निकायको ध्यानाकर्षण भएपछि हाल सो सडक कालोपत्रे हुने भएको छ । तीन खण्डमा बाँडेर निर्माण काम शुरु भएपनि वर्षातका कारण निर्माणको कामले गति लिन सकेको छैन । कालिका कुमार कन्टक्सनले निर्माण गर्न लागेको लम्कीदेखि टीकापुरतर्फको आठ किलोमिटर सडकमा परेका ठुला खाल्डा र ब्रेकरले आवागमनमा निकै समस्या हुने गरेको यातायात ब्यासायीहरु बताउँछन् । सो क्षेत्रमा बनाइएका ब्रेकरले साना सवारी साधनलाई निकै समस्या हुने गरेको छ ।

हाल माहामारीको समस्या बढ्दै गएको र वर्षातको समयमा टीकापुरको तल्लो क्षेत्र र भजनी नगरपालिकाका अधिकाँश ठाउँहरु डुवानमा पर्ने भएकाले राहात र उद्धारको काम तिब्र गर्नुपर्ने भएकाले सडकको खरावी र ब्रेकरहरुका कारण समयमा पुग्न कठिन हुने भएकाले तत्काल ब्रेकर हटाउन र खाल्डाखुल्डी पुर्नुपर्ने माग स्थानीय बासिन्दाहरुको छ । अहिले लम्की टीकापुर हुँदै खक्रौला सम्मको निर्माणको काम तिन वटा कम्पनीले गर्दै आएकाछन् । स्थानीय बासिन्दाहरुको माग र सो सडकमा आवागमन गर्नेहरुको गुनासोका आधारमा सो सडकमा परेका खाल्डाहरु पुर्नुका साथै ब्रेकरहरु भत्काउन सम्बन्धित निर्माण कम्पनीहरुलाई पत्राचार गरिसकेको हुलाकी सडक आयोजनाका प्रमुख रामपुकार जैसवालले जानकारी दिनुभयो । यस्तै निर्माण कम्पनी कालिका कुमार जेभिका सब कन्टेक्टरका परियोजना प्रवन्धक दिनेश मल्लका अनुसार सोमवारदेखिनै सडकका ब्रेकर भत्काउनुका साथै सडकमा परेका खाल्डाहरु पुर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्