रकम जुटाएर एम्बुलेन्स सञ्चालन



अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जाको एक संस्थाले सामाजिक सञ्जालको प्रयोगमार्फत रकम सङ्कलन गरी एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । स्याङ्जाको गल्याङ नगरपालिका ११ मा रहेको आलमदेवी सामुदायिक परोपकार मञ्च तुलसीभञ्ज्याङ (आसा) ले सुविधासहितको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । सवारी साधनको अभावकै कारण अकालमै कोही कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्धेश्यले एम्बुलेन्स सेवा संचालनमा ल्याईएको हो । यहाँका नागरिकलाई सेवा दिनुपर्छ भन्ने अभिप्रायले हाल जापानमा बस्दै आउनुभएका स्थानीय खेम जिसीले अगाडि सारेको परिकल्पनालाई मूर्तरुप दिने गरी संस्थागतरुपमा अगाडि बढिएको आसाका कोषाध्यक्ष द्रबेन्द्रदेव खनालले बताउनुभयो ।

तुलसीभञ्ज्याङसहित आसपासका ईच्छुक दाताहरु तथा यहाँबाट रोजगारीका शिलशिलामा विदेशी भूमिमा रहेका नेपालीहरुको स्वस्फुर्त सहयोगमा एम्बुलेन्स खरीद गरी सञ्चालनमा ल्याईएको कोषाध्यक्ष खनालले बताउनुभयो । नेपाल सरकारद्वारा राजश्व छुटमा रु. ९ लाख ५६ हजारको लागतमा महिन्द्रा कम्पनीको बोलेरो पिकअप एम्बुलेन्स खरीद गरी आवश्यक अक्सिजन सिलिण्डर जडान, सिट मर्मत, बीमासहित झण्डै १३ लाखको खर्चमा एम्बुलेन्स सञ्चालनमा आएको छ ।

“विशेष गरी तुलसीभञ्ज्याङका जिमूहा लगायतका ठाउँबाट आवश्यक मात्रामा सवारी साधनहरु नपाईने समस्या रहेको छ” कोषाध्यक्ष खनालले भन्नुभयो, “कोही बिरामी भएर अप्ठ्यारोमा परेका बेला स्वास्थ्य संस्थासम्म पु¥याउनका लागि एम्बुलेन्स सेवाको शुरुआत गरेका हौं ।” एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै गल्याङ नगरपालिकाका ११, ९, ३ तथा पाल्पाको रम्भा गाउँपालिका र रामपुर नगरपालिकाका केही वडाका बिरामीलाई सेवा दिन सकिने कोषाध्यक्ष खनालले बताउनुभयो ।

सामाजिक सञ्जालमार्फत सङ्कलन भएको रकमबाट एम्बुलेन्स खरीद गरिएसँगै अब यसको सञ्चालनका लागि आवश्यक कोष स्थापना गर्ने तयारी भएको छ । एम्बुलेन्स सञ्चालन तथा मर्मतका लागि स्थानीय पालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ भने कोष बृद्धिका लागि एक घर–एक सदस्य बनाउने अभियान पनि अगाडि सारिएको कोषाध्यक्ष खनालले बताउनुभयो ।

“एम्बुलेन्स सेवाको शुरुआतसँगै विशेष गरी गर्भवती महिलाहरुलाई स्वास्थ्य चेकजाँच गर्न तथा सुत्केरी हुने समयमा अस्पताल पुग्नसमेत सहज हुने आसाका सञ्चार संयोजक टीकाराम अधिकारीले बताउनुभयो । गाउँ गाउँमा आवश्यक परेका बेला सवारी साधनहरु पाउन समस्या हुने र भाडा पनि धेरै हुने भएकाले सहुलियत दरमा एम्बुलेन्स सेवा सञ्चालन गरिएको उहाँले बताउनुभयो । स्थानीय पालिका गल्याङ नगरपालिका अन्तर्गतको गल्याङ नगर अस्पतालसँग समन्वय र सम्झौता गरी अस्पतालको दररेट अनुसार सेवा दिईने उहाँले बताउनुभयो । एम्बुलेन्स सेवाको शुरुआत गरेसँगै गाउँका नागरिकहरुले सहज, सरल सस्तो भाडादरमा सेवा प्राप्त गर्न पाउने भएपछि खुशी ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्