आलस्यमय प्रारम्भ



प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ साता बितिसकेको छ । तर, कार्य प्रगतिका हिसाबले यो साता आलस्यमय देखिएको छ । संसद् विघटनविरुद्ध एकजुट भएका पाँच राजनीतिक शक्तिको सरकार गठन भएपछि जुन तीव्रताका साथ सरकारलाई पूर्णता दिने र कार्यक्रमको घोषणा गर्ने कार्य आवश्यक थियो, त्यो भएनछैन ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पनि प्राप्त गरिसकेका छन् । तत्काल नै सरकार ढल्ने वा अर्को सरकार बन्ने आशंका हटेको छ । सरकार बनेको दुई साता पुग्न लाग्दासमेत सरकारले आफ्नो प्राथमिकता सार्वजनिक गर्न सकेको छैन । सत्तारूढ गठबन्धनले यस अवधिमा मन्त्रिमण्डललाई पूर्णता दिने काम हुनसकेको छैन । सत्तारूढ दलका शीर्ष नेताहरूबीच दैनिकरूपमा भेटघाट र वार्ता जारी देखिन्छ । सत्तारूढ गठबन्धनको बीचमा न्यूनतम साझा कार्यक्रम बनाउने भने पनि अहिलेसम्म सार्वजनिक भएको छैन । प्रतिनिधिसभा विघटन हुँदा सडक आन्दोलनमा रहेका अहिलेका गठबन्धनका दलहरूले जनताको हितलाई ध्यानमा राखेर परिणाम दिने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए । तर, सरकार बनेको यस अवधिमा पनि गठबन्धनले मन्त्री बनाउने गाँठोसमेत फुकाउन सकेको छैन । गठबन्धनमा रहेका दलहरूबीच शुरूमै अलमल र ढिलासुस्ती देखिएको छ । कोराना संक्रमणको तेस्रो लहर आउनसक्ने पूर्व अनुमान हुनथालेको छ । अस्पतालमा कोरोना संक्रमित बिरामी बढ्न थालेका छन् भने दैनिक परीक्षणमा पनि संक्रमितको ग्राफ दिनहुँ बढ्दो क्रममा रहेको छ । अहिलेकै अवस्थामा सरकारलाई काम गर्न कुनै बाधा व्यवधान छैन । संसद्मा एक सय ६५ जना सांसदले विश्वासको मत दिए पनि प्रधानमन्त्री देउवाले सरकारको काम कारवाहीलाई गति दिन सकेका छैनन् । यसलाई शुभसंकेत मान्न सकिन्न । सरकारको मुख्य प्राथमिकतामा रहेको कोरोना भाइरसविरुद्धको खोप नै हो । अहिलेसम्म ८० लाख डोज खोप नेपाल आइसकेको छ । अझै नेपालका लागि एक करोड २० लाखभन्दा बढी डोज खोपको आवश्यकता रहेको छ । सरकारले खोपको लागि प्राथमिकता दिए पनि कूटनीतिकरूपमा गर्नुपर्ने पहल अझै पनि प्रभावकारी बन्न सकेको छैन । प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री अझै नियुक्त गर्न सकेका छैनन् जसले खोप कूटनीतिलाई व्यवहारमा उतार्न सकून् । यति बेला सरकारले घोषणालाई भन्दा पनि खोप ल्याउने कामलाई तीव्रता दिनआवश्यकता छ ।

सरकार गठन, मन्त्रिमण्डल विस्तार नियमित प्रक्रिया हुन् । यस्ता नियमित प्रक्रियामा पनि गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्री बन्न हानाथाप देखिएको छ । सरकारले तत्काल मन्त्रिमण्डलाई पूर्णता दिएर जनताको आशा र अपेक्षाअनुसारको काम नगर्ने हो भने विगतका सरकार र यस सरकारमा खासै भिन्नता देखिने छैन । सरकार गठनको डेढ सातामै यसरी आलोचना गर्नु हतार भएको अनुभूति पनि हुनसक्छ । तर, ‘बिहानीले दिन देखाउँछ’ भन्ने नेपाली उखानलाई मनन् गर्नैपर्छ । के कुनै सरकारलाई बिहानी देखाउन डेढ साता पर्याप्त होइन र ? प्रधानमन्त्री देउवाले संसद्बाट विश्वासको मत पाएपछि गरेको सम्बोधनमा खोप खोप र खोपको प्रतिवद्धता जनाउँदा बिहानी निकै प्रदीप्त हुने आस थियो, तर सरकारलाई पूर्णता दिन र कार्यक्रम घोषणा गर्न नसक्दा निराशा बढेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्