१० बुँदे सहमति कार्यान्वयन गर्न सांसदहरूको माग



काठमाडौं, (नेस) ।

नेकपा एमालेभित्र जारी विवाद समाधान गर्न भएको १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टीका सांसदहरूले माग गरेका छन् । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आरोप–प्रत्यारोपको शृंखला चलिरहेका बेला पार्टीका सांसदहरूले भने १० बुँदे सहमति कार्यान्वयनमा जोड दिएका छन् ।

नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आइतबार १० सदस्यीय विघटित कार्यदलका नेतासँगको छलफलपछि विघटित कार्यदलले तयार पारेको १० बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न दुई शीर्ष नेतासँग माग गरेका छन् । उनीहरूले लिखित प्रस्ताव पारित गर्दै दुई शीर्ष नेतालाई १० बुँदे सहमति कार्यान्वयनको नेतृत्व लिनसमेत आग्रह गरेका छन् ।

पार्टीको संस्थापन पक्ष र नेपाल पक्षका दुवै समूहका सांसदहरूको सहभागिता रहेको छलफलको संयोजन यज्ञराज सुनुवारले गर्नुभएको थियो । कार्यदलका दुवै संयोजक भीम रावल र सुवास नेम्वाङले १० बुँदे सहमति गर्दाको मेहनत र यसले पार्टीलाई एक बनाउन गर्ने सहयोगबारे बताएपछि सांसदहरूले यस्तो माग गरेका हुन् ।

सांसद सुनुवारले पार्टी एकताका लागि पारित गरेको १० बुँदे सहमतिले एमालेका आन्तरिक समस्या समाधान गरी पार्टी एकता गर्न सकिन्छ भन्ने साझा बुझाइ आफूहरूको रहेको बताउनुभयो । नेपाल समूहमा रहेका सुनुवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन सर्वोच्च अदालतमा जारी गरिएको रिटमा हस्ताक्षर गरे पनि साउन ३ गते संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भने विश्वासको मत दिनुभएको थिएन ।

प्रतिक्रिया दिनुहोस्