एमाले मिलाउने अभियान फेरि सुरु, दुवै पक्षका नेता सक्रिय



न्युज अफ नेपाल, काठमाडौं ।

एमाले एकता अभियान फेरि सुरु भएको छ । एमालेका विभाजित दुबै समूहका नेताहरु पार्टी मिलाउन सक्रिय बनेका छन् । आइतबार सिंहदरबारबाट अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुले पार्टी मिलाउने पहल सुरु गरेका छन् ।

अभियानमा यसअघि विघटित कार्यदलका सदस्यहरुको उपस्थिति रहेको बताइएको छ । बैठकमा दुवै पक्षका २७ सांसद्हरुका साथै विघटित कार्यदलका ९ सदस्यहरुको उपस्थिति रहेको बताइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट कृष्णप्रसाद दाहाल र वरिष्ठ नेता नेपाल समूहबाट यज्ञराज सुनारेले अभियानको नेतृत्व लिएका छन् ।

बैठकमा यसअघिको कार्यदलले तयार पारको १० बुँदे सहमतिलाई इमान्दारपूर्वक पालना गर्न सके एकता गर्न असम्भव नरहेको ओली समूहका नेतृत्वकर्ता दाहालले बताए । साथै, १० बुँदे सहमतिविपरीत गतिविधिमा नलाग्न पनि उनको सुझाव रहेको थियो ।

बैठकमा नेपाल समूहका नेतृत्वकर्ता सुनुवारले एमाले विभाजनको अधिकार कुनै पनि नेतालाई नरहेको बताएका थिए । अध्यक्ष ओली र नेता नेपालको मात्र एक्लौटी निर्णयले पार्टी चल्न नसक्ने उनको भनाइ छ । साथै, यस्तो कदमविरुद्ध लाखौं कार्यकर्ताले हस्तक्षेप गर्नुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्