सत्ता बर्हिगमनसँगै अध्यक्ष ओली सरेपछि बालकोटमा फेरि चहलपहल बढ्यो



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएर सरकारी निवास बालुवाटार गएपछि सुनसान जस्तै बनेको ओली निवास बालकोट आसपास फेरि चहलपहल बढेको छ । निबर्तमान प्रधानमन्त्री ओली सत्ता बर्हिगमनसँगै नीजि निवास फर्केपछि बालकोटमा फेरि चहलपहल बढ्न थालेको हो ।

ओली प्रधानमन्त्री भएर बालुवाटार जानु अर्थात करिब साँढे तीन बर्ष अघि पनि यहाँ यस्तै चहलपहल हुने गरेको थियो ।एमाले र माओवादी केन्द्रबीच मेल भई नेकपा बन्ने ताका र उहाँ दोस्रो पटक प्रधानमन्त्री भए पछि बालुवाटार जानु अघि केही दिन यहाँ चहलपहल र भेटघाट एक्कासी बढेको थियो ।

तर यो बिचमा खासै चहलपहल थिएन ।त्यसो त ओलीका प्रिय पात्र गोकुल बास्कोटा संचारमन्त्री हुँदा ताका यही बस्नुभएको थियो । प्रधानमन्त्रीले आफ्नो क्याबिनेटका मन्त्रीलाई आवासका लागि आफ्नै घर उपलव्ध गराएको यो पहिलो घटना थियो । ओली पनि प्रधानमन्त्री रहँदा आक्कलझुकल निवास आउनुहुन्थ्यो ।

सर्बोच्च अदालतको परमादेशसँगै सत्ताबाट बाहिरीएपछि दश दिन अघि निबर्तमान प्रधानमन्त्री ओली बालकोट सर्नुभएको हो ।असार ३० गते तामझामका साथ ओली बालुवाटारबाट नीजि निवास सर्नुभएको थियो । ओलीलाई पार्टी कार्यकर्ता, युवा संघ नेपाल र अनेरास्ववियुका नेता तथा कार्यकर्ताले गाडी र मोटरसाइकलसहित बालकोटमा स्कर्टिङ गरि ल्याएका थिए ।

त्यही दिन उहाँले निवासको बार्दलीबाट दिएको अभिब्यक्ति अहिले पनि चर्चाको बिषय बनेको छ ।बार्दलीबाट उहाँले समर्थकहरुलाई सम्बोधन गर्दै पार्टीका बरिष्ठ नेता माधब नेपाललाई गद्दारको उपमा दिनुका साथै सत्ताधारी गठबन्धनलाई परमादेशको किस्तीमा प्रधानमन्त्री बन्न पाईन्न भन्ने अभिब्यक्ति दिनुभएको थियो ।

गत शनिबार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरु भेटवार्तामा आएका थिए भने गत सोमबार पार्टीको स्थायी कमिटि बैठक यही बसी केन्द्रीय समितिको एजेण्डा तय गरेको थियो । यसैगरी मंगलबार नेपाल कम्युनिष्ट पार्टी चन्द समुह का अध्यक्ष नेत्र बिक्रम चन्द बिप्लब सहितका नेताहरु बालकोट आई समसामयिक बिषय र नेपालको कम्युनिष्ट आन्दोलनबारे छलफल गर्नुभएको थियो ।

यसैगरी गत बुधबार राष्ट्रिय सभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरु यहीं आएर सभामा खेल्नुपर्ने भूमिकाबारे राय लिएका थिए ।सोही दिन एमाले नेताद्धय सुवास नेम्वाङ र बिष्णु पौडेल आएर पार्टीमा देखिएको बिवाद समाधानबारे छलफल गर्नुभएको थियो । त्यसो त ओली बालकोट सर्नुभएदेखि नै पार्टीका नेता,कार्यकर्ता तथा सरकारी कर्मचारी तथा शुभचिन्तकहरु भेट्नका लागि बाक्लै आउने जाने गरेको स्थानीयको भनाई छ ।ओलीको नीजि निवास सर्ने तयारी भएदेखि नै निवास आसपासमा सुरक्षा सतर्कता बढाइएको थियो

बिदाका दिनमा समेत उहाँलाई भेट्न यहाँ आउनेहरुका नीजि तथा सरकारी सवारी साधनको समेत बाक्लै ताँती लाग्ने गरेको प्रत्यक्षदर्शीको भनाई छ ।बालकोट आए यता अध्यक्ष ओली पार्टीको बिवाद समाधानका लागि निरन्तर हुने गरेका पार्टीका बैठक र कार्यक्रममा अगुवा पछुवा सहित दैनिक जसो आउने जाने गर्नुभएको छ ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त हुनुभएको थियो । एमाले संसदीय दलका नेता ओली तीन वर्ष चार महिना प्रधानमन्त्रीको कार्यकाल पुरा गरेर बालकोट निवास सर्नुभएको हो । २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार जानुभएको थियो । नेपाली राजनीतिक बृत्तमा बुढानिलकण्ठ ,कोटेश्वर ,खुमलटार र बालकोटलाई शक्ति केन्द्रको रुपमा बिशेष चित्रण गर्ने गरिएको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्