उपमहानगरपालिकाद्वारा जनक भवनको निर्माण सम्पन्न



जनकपुरधाम ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र उपप्रमुख रीता झाले संयुक्तरूपमा उपमहानगरपालिकाको नवनिर्मित कार्यालय जनक भवनको उद्घाटन गर्नुभयो । रु आठ करोड १३ लाखमा निर्माण भएको सो छ तले भवनमा ७१ वटा कार्यालयसम्बन्धी कोठा र ३२ वटा शौचालय कक्ष रहेका छन् ।

प्राचीन मिथिलाका राजा जनकको दरबारका चिन्तन मननका सन्दर्भलाई जीवन्त तुल्याउने उद्देश्यले मूल भवनलाई जनक भवन, भुइँ खण्डलाई शतानन्द सदन ९ राजा जनकका गुरु०, पहिलो खण्डलाई जानकी सदन, दोस्रो खण्डलाई सलहेश सदन, तेस्रो खण्डलाई विदुषी गार्गी सदन, चौथो खण्डलाई विदुषी मैत्रेयी सदन, पाँचौँलाई याज्ञवल्य सदन र छैटौँ खण्डको सभागृहलाई अष्टावक्र नामकरण गरिएको छ ।

विसं २०१९ मा जनक चोकमा सानो फुसको घर निर्माण भई शुरु भएको नगरपालिका कार्यालय पक्की भवन हुँदै पछिल्लो पटक त्रेतायुगीन प्रेरणा दिने स्वरूपमा निर्माण गरिएको छ । सो अवसरमा उपमहानगरपालिकाका प्रमुख साहले राजा जनकको दरबारका त्रेतायुगीन सन्दर्भलाई जीवन्त तुल्याउने सपना साकार भई आजदेखि नव इतिहास प्रारम्भ भएको धारणा राख्नुभयो ।

उहाँले उपमहानगरपालिका रूपान्तरणको दिशातर्फ अघि बढेको प्रसङ्ग उल्लेख गर्दै चुनौती भए पनि पूर्वाधार निर्माण, सभ्यता, संस्कृतिको संरक्षण कार्यमा क्रमशः उल्लेखनीय सफलता प्राप्त हुँदै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्