सुर्खेतमा राष्ट्रिय परिचयपत्रको लागि दर्ता अभियान शूरु



दीपेन्द्र शर्मा, सुर्खेत ।

सुर्खेतमा राष्ट्रिय परिचयपत्रको लागी विवरण दर्ता अभियान शुरु हुने भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिकावाट यहि साउन १० गते देखि शुरु गरिने भएको छ ।

शुक्रवार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित राष्ट्रिय परिचयपत्रको लागी विवरण दर्ता अभियान सम्बन्धी सुर्खेत जिल्ला स्तरिय अन्तरक्रिया तथा समन्वय कार्यक्रममा यहि साउन १० गते देखि वीरेन्द्रनगरवाट अभियान संचालन गर्न लागिएको जानकारी गराइएको हो ।

पहिलो चरणमा सुर्खेतको वीरेन्द्रनगरमा ५० वटा विवरण दर्ता स्टेशन स्थापना गरेर विवरण संकलन गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक अनुज भण्डारीले जानकारी दिनुभयो । तत्काल २० वटा संकलन स्टेशन स्थापना गरेर काम शुरु गरिने र केहि समय भित्र नै वाँकी ३० वटा संकलन स्टेशन थपेर काम प्रभावकारी संचालन गरिने निर्देशक भण्डारीले जानकारी दिनुभयोे ।

वीरेन्द्रनगरको काम सकिएपछि जिल्लाका अन्य स्थानीय तहहरुमा पनि संचालन गरिने वताउनुभयो । अहिले नेपाली नागरिकता प्राप्त नागरिकलाई वितरण गरिनेछ भने केहि समय देखि जन्मेपछि नै दर्ता गरेर परिचयपत्र वितरण गरिने भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाका वडाहरुमा दर्ता कर्मचारी तथा रुजू अधिकारीको ब्यवस्था गरेर १५ दिन सम्म स्टेशन राखेर विवरण संकलन गरिने छ ।

सबै डाटा लिनका लागि वडा कार्यालय भवन, साविकका मतदान केन्द्र, विद्यालय भवन, तथा सार्वजनिक भवनमा संकलन केन्द्र कायम गरेर काम अगाडी वढाइने उहाँले जानकारी दिनुभयो । डिजिटल नेपाल अन्तरगत राष्ट्रिय परिचयपत्र लागु गर्न लागिएको जानकारी दिदै तिन महिना भित्र काम सक्ने गरि तयारीको काम भइरहेको भण्डारीले वताउनुभयो । कर्णाली प्रदेश अन्तरगत हाल सल्यान जिल्लामा दर्ता विवरणको काम भइरहेको छ भने अव दोस्रो जिल्लाको रुपमा सुर्खेतमा शुरु हुदैछ ।

राष्ट्रिय परिचयपत्रको लागी विवरण दर्ता अभियान सम्बन्धी अन्तरक्रिया तथा समन्वय कार्यक्रममा सुर्खेत जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रसाशकिय अधिकृत तथा पत्रकार लगाएतका रोकारवालाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्