गंगाप्रसाद सारंगीवादनबाट गायनतर्फ



पहिलेको जस्तो लालज्योति छैन के हेर्छौ मुखैमायस्तै नै रैछ कर्मको लेखा जुरेनौ वैंशैमा ए साइँली जुरेनौ वैंशैमा त साता म्युजिक नेपालको युट्युब च्यानलबाट रिलिज भएको गायक गंगाप्रसाद घिमिरेले गाएको यो पूर्वेली भाकालाई निकै रुचाइएको छ।

घिमिरेले आधा दशकको अवधिमा पूर्वेली मायाले, नाच मारुनी, पूर्व—पश्चिम रेल र माया हौ गरी ४ गीति एल्बमका साथमा एक दर्जन पूर्वेली भाका बजारमा ल्याइसकेका छन्। प्रत्येक एल्बममा २-२ गीत संग्रह गरेका थिए। गायन क्षेत्रमा आउनुअघि उनी सारंगीवादक थिए। खड्ग गन्धर्वसँग सारंगीवादन सिकेका उनले २०७४ सालमा पूर्वेली माया बोलको गीत रेकर्ड गराई सार्वजनिक गरेपछि श्रोताले त मन पराए नै, वर्षको सर्वोत्कृष्ट पूर्वेली भाकातर्फ इपिक नेपाल म्युजिक अवार्डसमेत जिते। त्यसपछि उनको करिअर गायनतर्फ मोडियो। यसैबाट प्रेरित भएर उनले २०७५ मा बिन्दास जिउने हो र नाच मारुनी ल्याए। बिन्दास जिउने होबाट नाट्यश्वर म्युजिक अवार्ड पनि चुमे।

मोरङको पत्थरी शनिश्चरे नगरपालिका-३ का गायक घिमिरेले २०७७ सालमा अर्को पूर्वेली भाका माया हो बजारमा ल्याएका थिए। सोही वर्ष उनले नेसनल इन्टरटेनमेन्ट अवार्ड पनि पाए। गत वैशाखमा काठमाडौंमा सम्पन्न नेपाल म्युजिक एन्ड फेसन अवार्ड समारोहमा भने राष्ट्रिय संगीत सम्मान-२०७७ बाट सम्मानित भए। पछिल्लो चार महिनायता गंगाप्रसादले चट्ट कपाल, शिरफूल, लालज्योति र पूर्व-पश्चिम रेल बोलका पूर्वेली भाकाका गीत बजारमा ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्