नयाँ संसद् भवनमा अधिवेशन सञ्चालन गर्ने तयारी


काठमाडौं ।

संघीय संसद्को आगामी अधिवेशनका बैठक नयाँ संसद् भवनमा सञ्चालन गर्ने तयारी भइरहेको छ। यसैक्रममा सोमबार सभामुख डोलप्रसाद अर्यालसहित संसद् सचिवालयका अधिकारीहरूले निर्माणाधीन भवनको अवलोकन गरेका छन्।

अवलोकनका क्रममा संसद् बैठक सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, आन्तरिक सजावट, प्रविधि तथा सुरक्षा व्यवस्थापनबारे निरीक्षण गरिएको थियो।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नयाँ संसद् भवनका १२ वटै संरचनाको समग्र भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ। संसद् बैठक बस्ने मुख्य हलको निर्माण कार्य लगभग सम्पन्न भए पनि आन्तरिक सजावट र प्रविधि जडानका केही काम बाँकी छन्।

ती काम शीघ्र सम्पन्न गर्न निर्देशन दिइएको छ। आवश्यक तयारी पूरा भए आगामी अधिवेशनका बैठक नयाँ भवनबाटै सञ्चालन गर्न सकिने संसद् सचिवालयले जनाएको छ।

सिंहदरबारस्थित पुतली बगैँचामा निर्माण भइरहेको नयाँ संसद् भवनमा प्रतिनिधिसभाका लागि ७०० सिट क्षमताको हल, राष्ट्रिय सभाका लागि बैठक कक्ष, संसदीय दलका कार्यालय, संसद् सचिवालय, पुस्तकालय, क्यान्टिन तथा ७०० सवारीसाधन अट्ने पार्किङ सुविधालगायत संरचना निर्माण गरिएका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।