नारायणहिटीमा राज्याभिषेक बग्गी राखिँदै



????????????????????????????????????

ईश्वरराज ढकाल, काठमाडौं  । 

नारायणहिटी संग्रहालय अवलोकन गर्ने आउनेले अबदेखि स्वर्गीय राजा वीरेन्द्रले २०३१ सालमा राज्याभिषेकमा प्रयोग गर्नुभएको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालयमा प्रदर्शनीका लागि राख्न लागिएको हो ।राजा त्रिभुवन र महेन्द्र प्रयोग गर्ने पुरानो सवारीसाधन पनि मर्मत गरी प्रदर्शनीमा राख्ने तयारी भइरहेको संग्रहालयले जनाएको छ । सबै सवारीसाधन पुरानो भइसकेकाले मर्मत गरेर सकेसम्म चल्ने अवस्थामा प्रदर्शनीमा राख्ने तयारी भइरहेको बताइएको छ ।

संग्रहालय विकास समितिका प्रमुख भेषनारायण दाहालले राजा वीरेन्द्र र त्यसअघिका शाहकालीन राजाले प्रयोग गर्ने सामग्री प्रदर्शनीमा राख्ने क्रममा बग्गी राख्न लागिएको जानकारी गराउनुभयो । उहाँले नेपाली सेनाले जोगाएर राखेको बग्गी सर्वसाधारणलाई देखाउन प्रदर्शनी कक्षमा राख्न लागिएको बताउनुभयो ।उहाँले भन्नुभयो– ‘संग्रहालयले बग्गी सामान्य मर्मत गरी केही दिनभित्र प्रदर्शनीमा राख्ने तयारी भइरहेको छ । साथै संग्रहालय अवलोकन गर्न आउनेलाई स्वर्गीय राजा वीरेन्द्र र उहाँको परिवारले प्रयोग गरेका सम्पूर्ण सामग्री हेर्न पाइने व्यवस्था गर्न सबै सामग्री प्रदर्शनीमा राख्ने तयारी भएको छ ।’नारायणहिटी हत्याकाण्डमा मृत्यु भएका राजा वीरेन्द्र, युवराज दीपेन्द्र, अधिकाराजकुमारी श्रुति र अधिराजकुमार निराजनले बच्चामा प्रयोग गरेका सवारीसाधन प्रदर्शनीमा राखिसकिएको छ ।त्यस्तै, स्वर्गीय रानी ऐश्वर्याको शृंगार कक्ष नजिक फोटोग्राफी कक्ष राख्ने तयारी हुँदै छ । संग्रहालयले स्वर्गीय राजा वीरेन्द्र र त्यसअघिका शाहकालीन राजा र उहाँको परिवारको फोटो सो कक्षमा राख्न लागेको हो ।

नारायणहिटी दरबारमा रहेका सबै फोटो खोजी गरिसकेको जानकारी दिँदै संग्रहालय प्रमुख दाहालले भन्नुभयो– ‘केही फोटो विभिन्न क्षेत्रबाट खोजी गरेर फोटोग्राफी कक्षमा राख्नेछौं ।’त्यस्तै, संग्रहालयले नारायणहिटी दरबारभित्र रहेको हल मर्मत गरिसकेको र उक्त हल खुल्नेबित्तिकै राजा वीरेन्द्र र उहाँको परिवारको डकुमेन्ट्री प्रदर्शन गर्ने गरी तयारी चलिरहेको पनि जनाएको छ । डकुमेन्ट्री तयार गर्न टुके मेसिन र सर्भर खरिद गरिसकेको र ती मेसिन जडान भएलगत्तै शाहकालीन राजा र उहाँको परिवारको डकुमेन्ट्री देखाउने तयारी भइरहेको दाहालले बताउनुभयो ।लकडाउनका कारण करिब ५ महिनादेखि बन्द संग्रहालय खुलेलगत्तै अवलोकनमा आउने दर्शकले नयाँ–नयाँ सामग्री हेर्न पाउने गरी तयारी भइरहेको दाहालको भनाइ छ ।

संग्रहालयमा अवलोकनकर्ताको सुविधाका लागि माछापुच्छ«े बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत १ सय ५० वटा मोबाइल राख्न मिल्ने गरी ‘हाइटेक मोबाइल लकर’ राख्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्